Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु

चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु


  • 4.5K
    Shares

    चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु

    तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ ।

      रु एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे रु दुई लाख लगानी अस्पतालले गरेको छ । नगरपालिकाले सो प्लान्ट खरिद गरेर अस्पताललाई उपलब्ध गराएको हो ।

     तीन जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहहरुले नेपालगञ्ज गएर अक्सिजन भरेर आपूर्ति गर्दै आएका थिए । अब नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताइएको छ ।

     यो प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिण्डर भर्न सक्ने क्षमता राख्दछ । हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ । विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो ।

     विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको नगरपालिकाले जनाएको छ । जाजरकोटको ५० शय्याको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद प्रक्रिया नहुँदा बजेट फ्रिज भएको छ ।

     बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढाए पनि ठेकेदारले खरिदमा ढिलाइ गर्दा सम्झौता रद्द गरिएको थियो । पटक–पटक प्लान्ट ल्याउन म्याद थप्दा पनि ठेकेदारले प्लान्ट नल्याएपछि सम्झौता रद्द गरिएको व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो ।

     त्यस्तै छिमेकी जिल्ला डोल्पामा समेत अक्सिजन प्लान्ट भन्दै नक्कली कन्सन्ट्रेटर ल्याएर बुझाएपछि सो ठेक्का रद्द भएको छ । रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा प्लान्टको नाममा कन्सन्ट्रेटर खरिद गरिएको सूचना चुहिएपछि छानबिनसमेत गरिएको थियो ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - ११:१६:४० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij