Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने


  • 4.5K
    Shares

    पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने
    images

    पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताउनुभयो । उहाँले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताउनुभयो ।

     “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ”, उहाँले भन्नुभयो, “पर्वतमा साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूर्ण हुनेछ । जिपलाइनसहित साहसिक खालका अरु काम पनि हामीले गर्ने तयारी गरिरहेका छौँ ।”

     जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताउनुभयो । यस्तै छ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्वीमिङ पुल निर्माणको काम सक्ने उहाँको भनाइ छ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

     कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको बताउनुभयो । समुद्रको पानीमा साहसिक खेल खेल्न रुचाउने पर्यटकलाई बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर नै कालीगण्डकी नदीमा जेटस्की सञ्चालनमा ल्याउने तयारी गरिएको पौड्यालले बताउनुभयो ।

     जेटस्कीको परीक्षण सफल भए कालीगण्डकी नदीको सतहमा मोटरसाइकलमा गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने उहाँको भनाइ छ । अहिले वर्षायाम भएकाले नदीमा पानीको बहाव ठूलो भएका कारण पानीको मात्रा घट्नासाथ परीक्षण गर्ने तयारीमा लगानीकर्ता छन् ।

     सदरमुकामसमेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो ।

     निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।

     पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेण्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:१५:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij