Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दार्चुला घटनाबारे छानबिन होस्–सांसद

दार्चुला घटनाबारे छानबिन होस्–सांसद


  • 5.1K
    Shares

    दार्चुला घटनाबारे छानबिन होस्–सांसद

    प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।

     प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सांसद विमला नेपालीले भन्नुभयो, “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, घटनाबारे सत्यतथ्य छनबिन गर्न समेत माग गर्दछु ।”

     यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताइएको छ । सांसद विमला विकले बर्दिया जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण पुल भत्किएकोबारे सरकारको ध्यानाकषर्ण गराउँदै सो पुलको पुनःनिर्माणका लागि आग्रह गर्नुभयो ।

     सांसद वृजेषकुमार गुप्ताले भैरहवादेखि कपिलवस्तुसम्मको बाटो निर्माण भएको ६ महिनामै भत्किएको बताउँदै ठेकेदारलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो । सांसद भरतकुमार शाहले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउन अनुरोध गर्नुभयो ।

     सांसद भीमसेनदास प्रधानले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना खोपको व्यवस्था गर्न माग गर्नुभयो । सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटना अमानवीय घटना भएको जनाउँदै कारवाहीको माग गर्नुभयो ।

     सांसद महेश बस्नेतले कोभिड विरुद्धको खोपलाई व्यवस्थित गर्नुपर्नेलगायत जनताका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद महेश्वर गहतराजले दार्चुलामा भारतीय सेनाद्वारा गरिएको अमानवीय व्यवहारको विरोध गर्नुभयो । सांसद मायादेवी न्यौपानेले मनाङ जिल्लामा बाढीपहिरोका कारण पीडित भएका स्थानीयवासीलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

     सांसद मीनबहादुर विश्वकर्माले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको लापरवाही र अनियमितता रोक्न अनुरोध गर्नुभयो । सांसद मोहन बानियाँले जयसिंह धामीलाई महाकाली नदीमा खसालिएको घटनाको घोर भत्र्सना गर्दछु भन्नुभयो ।

     उहाँले घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्नुभयो । सांसद राजबहादुर बुढाक्षेत्रीले दार्चुला घटना पहिलो पटक नभएको भन्दै छानबिन गर्न आग्रह गर्नुभयो ।

     सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा कोरोना बढ्दै गएको बताउँदै खोपको व्यवस्था गर्न माग गर्नुभयो । सांसद राजेन्द्रप्रसाद गौतमले दार्चुलामा तुइन काटेर नदीका खसाल्नु अन्तर्राष्टिय फौजदारी अपराध हो भन्नुभयो ।

     सांसद रामबहादुर विष्ट, रामवीर मानन्धर, रामेश्वर राययादव, मीना सुब्बा, रेनुका गुरुङ, मेखमणि चौधरी, रामकुमारी झाँक्री, यज्ञराज सुनुवारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १६:३०:४८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij