२०८२ मंसिर १५ गते सोमवार
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका गरी १७ घर बगेका छन् । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ ।
गएको असार १ गते आएको बाढीले लेदो भरिएका घरहरू हिजो शनिवार रातिको बाढीले बगाएको हो । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । ‘पहिरोको जोखिम घटने स्थिति छैन । तत्कालका लागि मेलम्ची करिडोरका बासिन्दालाई तत्काल सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन, भीमथाङबाट लेदोसहितको पहिरो बग्ने क्रम जारी छ' ।

चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित नौ वटा पक्की र आठ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

बाढीग्रस्त क्षेत्रको मुहान अवलोकन गरेर काठमाण्डौ फर्किनुभएका गाउँपालिकाका अध्यक्षले यसबारेमा गृह मन्त्री बालकृष्ण खाँडलाई जानकारी गराइसकेको र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर जानकारी गराउने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij