Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

जनता समाजवादी पार्टी

जसपा उपेन्द्रकै नेतृत्वमा सरकारमा सहभागी हुने, मन्त्री बन्नेहरूको प्रारम्भिक सूचीमा यी नेताका नाम

जसपा उपेन्द्रकै नेतृत्वमा सरकारमा सहभागी हुने, मन्त्री बन्नेहरूको प्रारम्भिक सूचीमा यी नेताका नाम


  • 5.9K
    Shares

    जसपा उपेन्द्रकै नेतृत्वमा सरकारमा सहभागी हुने, मन्त्री बन्नेहरूको प्रारम्भिक सूचीमा यी नेताका नाम
    images

    काठमाडौँ । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने एक नेताले जानकारी दिए । 

    यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको स्रोत बताउँछ । 

    सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र अर्को ठूलो घटक नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय भागबण्डा टुंगिनसकेको बताए पनि जसपाले आफ्नो भागमा ७ मन्त्रालय परेको भन्दै मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न छलफल गरिरहेको छ ।  अहिले तयार गरिएको सूची ९५ प्रतिशत ‘फाइनल’ जस्तै रहेको एक नेताले बताए । 

    अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरेका छन् । राय यादव पार्टी विवादमा महन्थ ठाकुर समूहबाट आफूतिर आएको र सिनियर नेता भएकाले मन्त्रीमा लैजाने निश्चित गरेका हुन् । श्रेष्‍ठको नाम यसअघि पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा पनि अन्तिम समयमा काटिएको थियो । 

    त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा छ । पार्टीले आधिकारिकता पाउने बेलामा ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई सकभर विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेका छन् । 

    राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ । रामसहाय आफ्ना विश्वास पात्र तथा राजकिशोर ठाकुरलाई छोडेर आफूसँग आएकाले कसलाई बनाउने भन्नेमा यादव अप्ठेरोमा छन् । 

    त्यस्तै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गराउन त्यहाँबाट इस्तियाक राई/अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूलाई बताएका छन् । जसपामा ठाकुरकी विश्वासपात्र मानिने अग्रहरी केही दिन अघि मात्रै यादव समूहमा खुलेकी थिइन् । उनलाई जसरी भए पनि मन्त्री दिनुपर्ने दबाबमा यादव छन् । 

    क्षेत्रीय र भेगीय सन्तुलन मिलाउन पर्ने भएकाले प्रदेश(१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् । 

    पार्टीको मुख्य पकड प्रदेश(२ रहेकाले त्यहाँबाट धेरै मन्त्री बन्नु स्वाभाविक भए पनि अन्य प्रदेशबाट पनि प्रतिनिधित्वका आधारमा मन्त्री बनाइने यादवले निकटस्थहरूलाई बताउने गरेका छन् । जसपाको गण्डकी प्रदेशमा डा।बाबुराम भट्टराई भन्दा अन्य संघीय सांसद छैनन् । त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि जसपाका संघीय सांसद छैनन् । कैलालीबाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कारागारमा छन् । 

    सांसद र मन्त्री बन्ने लाइनमा रहेका प्रदीप यादव मन्त्रालयको संख्या र कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै मन्त्रीको नाम तय हुने बताए । ‘पहिला कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै व्यक्ति छनोट हुन्छ,’ यादवले भने ।
     
    तर संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। भट्टराईले आफू निकटका संघीय सांसद् नभएकाले आफ्नी पत्नी हिसिला यमी र कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउन दबाब दिइरहेका छन् ।  

    नेता राययादवले आफूहरूले सरकारमा जाने तयारीमा रहेको बताए । ‘हामी सरकारमा जाने तयारीमा छौं । कसको नेतृत्वमा जाने र को को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ राययादवले इकागजसँग भने, ‘अहिलेसम्म नाम टुंगिसकेको छैन । अब छिट्टै टुंग्याएर प्रधानमन्त्रीलाई सिफारिस गर्छौँ ।’  

    पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा। भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको थियो । तीन नेताहरूबीच निरन्तर औपचारिक र अनौपचारिक बैठक भइरहेका स्रोतले बतायो ।

    डा. भट्टराईले सांसद नभएका नेतालाई मन्त्री बनाउन पर्ने दबाब दिए पनि प्रधानमन्त्री देउवाले सांसदलाई मात्र सिफारिस गर्न भनेकाले नेताहरू अफ्टेरोमा परेका छन् । ‘संघीय परिषद् अध्यक्षज्यू सांसद नभएका नेतालाई पनि मन्त्रीमा सिफारिस गर्नु पर्ने बताइरहनु भएको छ । प्रधानमन्त्रीले सांसदलाई मात्र सिफारिस गर्न भन्नुभएको छ । यसले समस्या परिरहेको छ,’ एक नेताले भने । 

    बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिने तर केही मन्त्री थप्ने योजनामा प्रधानमन्त्री छन् ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १२:०२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij