२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको वासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरूको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए ।
“बाघका लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काका लागि आवश्यक कुरा हुन् । बाघको वासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ,” उनले भने ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए । उनले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुनेगरेको बताए ।
उनले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न पनि सुझाव दिए । “प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ, रचनात्मक चाहिन्छ,” उनले भने ।
उनले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने बताए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij