२०८२ मंसिर १५ गते सोमवार
स्वास्थ्यमन्त्रीमा आफूनिकट कांग्रेस नेतालाई नै नियुक्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। शिक्षालगायत क्षेत्रका व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि विवादमा परेका प्रधानमन्त्रीले स्वास्थ्यमा मन्त्री नै नियुक्त गर्ने तयारी गरेका हुन्।
उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्दा उनले मन्त्रालयको जिम्मेवारी भने आफूमातहत राख्ने निर्णय गरेका थिए। चौतर्फी बिरोधकै कारण हुनसक्छ, उनले स्वास्थ्यमा मन्त्री पनि नियुक्त गर्ने तयारी गरेको देउवानिकट एक नेताले बताए।
त्यहीअनुसार उनले आफूनिकट नेतालाई स्वास्थ्य मन्त्रालयमा लैजाने तयारी गरेका छन्। देउवानिकट ती कांग्रेस नेताले भने, ‘फरक दलबाट वा दलभित्रका दुई समूहबाट मन्त्री र राज्यमन्त्री बनाउँदा प्रभावकारिता कम हुने सोचेर आफ्नै समूहबाट स्वास्थ्यमन्त्री बनाउने तयारी छ।’ कार्कीलाई स्वास्थ मन्त्री बनाईए मन्त्री र राज्यमन्त्री एकै जिल्ला भोजपुरका हुनेछन्,दुवै भोजपुरमा जन्मिएका हुन्। तर कार्कीले चुनाब भने सुनसरी बाट जितेका हुन्।
फरक समूहबाट मन्त्री र राज्यमन्त्री हुँदा निर्णय प्रक्रियामा एकले अर्कालाई असहयोग गर्न सक्ने हुनाले एउटै पक्षबाट मन्त्री बनाउने सम्भावना रहेको उनले जानकारी दिए।
स्वास्थ्यमन्त्रीमा कांग्रेसभित्र कृष्णप्रसाद सिटौलानिकट उमाकान्त चौधरीको चर्चा चलेको थियो। चौधरी मन्त्री बन्ने निश्चित जस्तै बने पनि अब उनले कुन मन्त्रालय पाउँछने भन्ने टुंगो लागेको छैन।
स्वास्थ्य राज्यमन्त्रीा नियुक्त श्रेष्ठ प्रधानमन्त्री देउवानिकट रहेकाले मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिने सम्भावना रहेको उनले बताए। त्यसका लागि कानुन पृष्ठभूमिबाट आएकी कांग्रेस नेता पुष्पा भुसाललाई कानुनमन्त्रीको जिम्मेवारी दिएर कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको उनले उल्लेख गरे। कार्की अहिले कानुनमन्त्रीसँगै सरकारको प्रवक्ताको जिम्मेवारीमा छन्।
गठबन्धनका अन्य दल र पार्टी भित्रका समूहले आफ्नो पक्षका नाम सिफारिस गरेको अवस्थामा बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ। बिहीबार मन्त्रालय भागवण्डा र नाममा सहमति हुन नसके शुक्रबार शपथ हुने छ। मन्त्रीबारे टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को पनि केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij