Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित


  • 9.3K
    Shares

    तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित
    images

    महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

    गत आइतबारयता बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाक्दै आएको छ ।

    तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको गुनासो छ ।

    “खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ५८ वर्षीय किसान सत्यनारायण यादवले भन्नुभयो, “यसपालि कोरोना कहरले जाडो चाँडै बढाएको त हैन रु” बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको भङ्गाहा–४ कै पलारको दलित बस्तीका ७० वर्षीय चौठी बाँतर बताउनुहुन्छ ।

    चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।

    यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विधानचन्द्र झाले बताउनुभयो । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा झाको भनाइ छ ।
     
    चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने आकलनले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।

    यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । रासस

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - ११:३३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij