२०८२ मंसिर १२ गते शुक्रवार
नेपालको सबैभन्दा ठूलो र प्रभावशाली व्यापारिक घराना चौधरी ग्रुपले नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर किन्ने तयारी गरेको छ। एनबी बैंकको विदेशी साझेदार संस्था बंगलादेशको आईएफआईसी बैंकले आफ्नो सम्पूर्ण सेयर बिक्री गरेर बंगलादेश नै फर्कने भएपछि चौधरी ग्रुपले सो सेयर आफूले सकार्ने तयारी थालेको हो।
नेपालको बैंकिङ व्यवसायमा राम्रो प्रगति गर्न नसकेपछि आईएफआईसी बैंक ढाकाले एनबी बैंकमा रहेको आफ्नो सम्पूर्ण सेयर बिक्री गर्ने निर्णय गरेको थियो। आईएफआईसी सेयर बिक्री गरेर ढाका फर्कने भएपछि चौधरी ग्रुप र एनबी बैंकका विदेशी साझेदार तथा एनबी बैंकका सञ्चालकहरूसँग सोमबार साँझ भएको छलफलमा उक्त सेयर किन्ने सहमति भइसकेको छ।
एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सम्पूर्ण सेयर चौधरी ग्रुपले किन्ने भएपछि एनबी बैंकले चार दिनअघि नेपाल स्टक एक्सचेन्जमा एक पत्र लेखी विदेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने निर्णय गरेको जानकारी पठाएको थियो।
एनबी बैंकका एक सञ्चालकका अनुसार चौधरी ग्रुपले आईएफआईसीको सेयर प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा किन्न सक्नेछ।
‘चौधरी ग्रुपले आईएफआईसीको सेयर किन्ने सहमतिपछि औपचारिकताको लागि एनबी बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्र पठाएर संस्थापक सेयर किन्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो,’ एनबी बैंकका एक सञ्चालकले भने।
ठूलो रकमको सेयर स्वामित्व परिवर्तन (किनबेच)को विषय भएकोले एनबीमा रहेको आईएफआईसी बैंकको नाममा रहेको सेयर किन्ने आँट कसैले गरेका थिएनन्। एनबी बैंकमा आईएफआईसीको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता सेयर रहेको छ। यदि चालु आर्थिक वर्षको बोनस सेयर पाएमा सो पनि बिक्री गरिने एनबी बैंकका लगानी साझेदार कम्पनी आईएफआईसीले सार्वजनिक सूचनामा भनिएको छ। यसो गर्दा आईएफआईसीको लगानी थप भएको हुनेछ। एनबी बैंकका एक सञ्चालकका अनुसार चौधरी ग्रुपले आईएफआईसीको सेयर प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा किन्ने तयारी गरेको छ।
आईएफआईसी बैंकले एनबी बैंकमा लगानी भएको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता सेयर एकैपटक बिक्री गर्न लागेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को इतिहासमा यति धेरै कित्ता सेयर एकैपटक कारोबार भएको छैन। चौधरी ग्रुप आईएफआईसी बैंकको स्वामित्वमा रहेको एनबीको सबै सेयर एकैपटक किन्ने तयारीमा छ।
ठूलो परिमाणको सेयर किनबेच सानो परिमाणको जस्तो सहज हुँदैन। ठूलो परिमाणमा बिक्री गर्दा विस्तृत अडिट रिपोर्टले देखाएको मूल्यमा किनबेच गर्नुपर्ने हुन्छ। यसका लागि दुवै पक्ष बसेर आपसी सहमतिमा सेयरको मूल्य निर्धारण गर्नुपर्ने हुन्छ। यसर्थ दोस्रो बजारमा एनबी बैंकको संस्थापक (प्रमोटर) सेयर बिहीबार १०९ रुपैयाँ प्रतिकित्ताका दरमा कारोबार भए पनि त्यसको झन्डै दोब्बर मूल्य (२ सय रुपैयाँ प्रतिकित्ता) तिरेर भएपनि सेयर किन्नुपर्ने मनशायमा चौधरी ग्रुप छ। यद्यपि विस्तृत अडिट रिपोर्ट आएपछि मूल्यमा केही तलमाथि पर्न सक्ने ती सञ्चालकको भनाइ छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (५) अनुसार बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको दुई प्रतिशतभन्दा बढी सेयर धारण गर्ने कम्पनी वा संगठित संस्थाले सेयर बिक्री वा हस्तान्तरण गर्नुअघि राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ। आईएफआईसी बैंकले एनबी बैंकमा करिब ४० प्रतिशत सेयर लगानी गरेकाले उसले पनि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ।
यो व्यवस्थाका कारण चौधरी ग्रुपले एनबी बैंकमा रहेको आइएफआइसी बैंकको सबै सेयर किन्नुअघि राष्ट्र बैंकको स्वीकृति लिने तयारी गरेको छ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ को निर्देशन नम्बर ८ को ३(२) अनुसार कुनै एक संगठित संस्थाको सेयरमा लगानी गर्दा प्राथमिक पुँजीको बढीमा १० प्रतिशत र सबै संगठित संस्थाको सेयरमा बढीमा प्राथमिक पुँजीको ३० प्रतिशत मात्र लगानी गर्न सकिने व्यवस्था छ। त्यसैगरी, संगठित संस्थाको सेयरमा लगानी गर्दा कुनै संस्थाको संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था गरिएको छ।
यो व्यवस्थाअनुसार चौधरी ग्रुपले एनबी बैंकको संस्थापक सेयर किन्न मिल्दैन किनभने चौधरी ग्रुपका सबै सदस्यहरूको नबिलमा ३० प्रतिशतभन्दा बढी सेयर छ।
त्यस्तै सोही निर्देशिकाको निर्देशन नम्बर ३(३) मा आफ्नो वित्तीय स्वार्थ भएका कम्पनीमा गरिएको कुल लगानीको हकमा त्यस्तो लगानी प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्र गर्न सकिने उल्लेख छ। यो व्यवस्थाले एनबी बैंकमा रहेको आईएफआईसीको सबै सेयर किन्ने चौधरी ग्रुपको तयारीलाई बाधा पुर्याउन सक्छ। सेयर किनेपछि नबिल बैंकमा नै मर्ज गर्ने भनेर नेपाल राष्ट्र बैंकलाई 'कन्भिन्स' गराउन सकेको खण्डमा भने एनबीमा रहेको आईएफआईसीको सबै सेयर चौधरी ग्रुपले किन्न सक्ने नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए।
एनबी बैंकमा रहेको विदेशी साझेदार कम्पनीको ४० प्रतिशत सेयर किनेपछि एनबी बैंकमा सबैभन्दा ठूलो लगानीकर्ता चौधरी ग्रुप नै बन्ने छ। उता नबिल बैंकमा पनि धेरै सेयर चौधरी ग्रुपको नै रहेको छ।
नबिलमा चौधरी ग्रुपद्वारा प्रवर्द्धित एनबी इन्टरनेसनलको ५० प्रतिशत सेयर हिस्सा रहेको छ। एनबी इन्टरनेसनलमा ४९ प्रतिशत चौधरी परिवारको लगानी छ भने ५१ प्रतिशत बंगलादेशी व्यवसायी अब्दुल अवाल मिन्टूको सेयर लगानी छ। यसको मतलब बाँकी सेयर पनि चौधरी ग्रुपकै हातमा रहेको छ। त्यस्तै नबिलमा चौधरी परिवारको नाममा मात्रै ३.११ प्रतिशत संस्थापक सेयर छ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीकी श्रीमती सारिका चौधरीको नाममा ०.७८ प्रतिशत, उनका जेठा छोरा निर्वाण चौधरीको नाममा ०.८९ प्रतिशत संस्थापक सेयर छ। उनी नबिल बैंकका संस्थापकको तर्फबाट सञ्चालकसमेत छन्। साथै, बैंकमा विनोद चौधरीका माइला छोरा वरुण चौधरीको नाममा ०.८५ प्रतिशत र कान्छा छोरा राहुल चौधरीको नाममा ०.५९ प्रतिशत संस्थापक सेयर छ।
नबिलले एनबीलाई मर्ज गर्न सकेमा सो बैंक पनि हिमालयन इन्भेस्टमेन्टपछिको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ।
त्यस्तै केही दिनअघि मात्र नबिल बैंकले युनाइटेड फाइनान्सलाई मर्ज गरी एकीकृत कारोबार समेत सुरु गरिसकेको छ। युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरी हुन्। उनी विनोद चौधरीका भाइ हुन्।
फाइनान्समा चौधरी ग्रुपको ३६.३८ प्रतिशत सेयर थियो। नेपाल राष्ट्र बैंकले एकाघरका परिवारका सदस्यहरूको बाहुल्यता रहेको बैंक तथा फाइनान्स मर्ज हुन दबाब दिएपछि चौधरी ग्रुपले युनाइटेड फाइनान्सलाई नबिलमा गाभेको हो। एनबी बैंकको विदेशी साझेदारको सेयर किनेपछि नबिल एनबी बैंक मर्ज गर्ने योजना चौधरी ग्रुपको छ।
नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालय बैंक मर्ज भई हिमालय इन्भेस्टमेन्ट बैंक बन्ने तयारीमा छ। यी दुई बैंक मर्ज भएपछि यसको चुक्तापुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ। मर्जपछि बन्ने यो बैंक सबैभन्दा ठूलो बन्ने मानिएको छ।
नबिलले एनबीलाई मर्ज गर्न सकेमा सो बैंक पनि हिमालयन इन्भेस्टमेन्टपछिको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ। युनाइटेड फाइनान्ससँग मर्जपछि नबिल बैंकको चुक्तापुँजी १३ अर्ब ८४ करोड पुगेको छ। एनबीसँग मर्ज भएमा नबिलको चुक्तापुँजी २१ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ।
नबिल बैंकको सञ्चालकमा विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरी छन्। विनोद चौधरी भने अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनी प्रतिनिधिसभाका सदस्यसमेत हुन्।
उद्योगी तथा व्यवसायी विनोद चौधरीको बंगलादेशका व्यापारीसँग राम्रो सम्बन्ध छ। नबिल बैंकमा ५० प्रतिशतको सेयर रहेको एनबी इन्टरनेसनलमा पनि बंगलादेशी व्यापारी अब्दुल अवाल मिन्टूको ५१ प्रतिशत सेयर लगानी रहेको छ। नेपालको एनबी बैंकमा पनि बंगलादेशको बैंक आईएफआईसीको ४० प्रतिशत लगानी छ।
यसअघि नै सन्निकटहरूसँग उद्योगी तथा व्यवसायी चौधरीले भन्ने गरेका थिए, ‘यो सेयर हाम्रा लागि महत्वपूर्ण हुनेछ।’
एनबी बैंकमा हाल ६ जना सञ्चालकमध्ये तीन जना सञ्चालक आइएफआइसी बंगलादेशकै छन। हाल बैंकमा एआरएम नजमुक सकिव अध्यक्ष छन्। त्यस्तै थप दुई सञ्चालक मोहमद साह आलम सरवर र कमरुन नहर अहमद सदस्य छन्। उनीहरू दुवै बंगलादेशी हुन्। बंगलादेशसँगको साझेदारी चौधरीलाई फापेकोले पनि उनी एनबी बैंकको हिस्सेदार रहन खोजेको बुझिएको छ। यसअघि नै सन्निकटहरूसँग उद्योगी तथा व्यवसायी चौधरीले भन्ने गरेका थिए, ‘यो सेयर हाम्रा लागि महत्वपूर्ण हुनेछ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij