२०८२ मंसिर १२ गते शुक्रवार
हाइड्रोपावर र फाइनान्स चम्किँदा सेयर बजार दोहोरो अंकले बढेको छ । चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन बजार हरियाली छाएर बन्द भएको हो ।
यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन ७५ अंकले बढेको बजार सोमबार ४५ अंकले घटेको थियो । समग्रमा यससाता बजार समग्रमा ५५ अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे २ अर्बले बढेर ८ अर्ब नाघेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ बराबरको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ भने फाइनान्स समूह पनि १.९५ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ३६ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक ३३ करोड र मेरो माइक्रोफाइनान्सको प्रमोटर सेयर २३ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
बढ्दो बजारमा आज ङादी पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढेको छ । यस्तै, रैराङ हाइड्रोपावर ८.९१, गणपत माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३, एनआइबील समृद्धि फण्ड–२ ७.७८, लिबर्टी इनर्जी ७.०४ प्रतिशतले बढेको छ ।
यसैगरी, गोर्खा फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रो डेभलपरको ५ प्रतिशतभन्दा धेरैले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, पञ्चकन्यामाइ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज कृषि विकास बैंक डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै ३.९० प्रतिशतले घटेको छ ।
नयाँ सरकारले कस्तो नीति लिन्छ र मौद्रिक नीति कस्तो आउला भन्ने प्रतीक्षामा लगानीकर्ता रहेका छन् । नेप्सेको विभिन्न उपसूचकम परिवर्तन गरेर लगानीकर्ताले खेल्ने कोसिस भने कायम राखेका छन् । सेयर ट्रेडिङबाट राम्रो मुनाफा गरेको चर्चासँगै पछिल्लो केही दिन यता लगानीकर्ताको रोजाइमा वित्त कम्पनी पर्दै आएका छन् । अर्कोतर्फ पूर्वउर्जामन्त्री जनार्दन शर्माको अर्थमन्त्रालयमा इन्ट्रीसँगै हाइड्रोपावर कम्पनी पनि लगानीकर्ताको रोजाइमा परेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij