२०८२ मंसिर १२ गते शुक्रवार
सेयर बजारमा पहिरो गएको छ । आइतबार एकैदिन ७५ अंकको उछाल आएको बजार आज उच्च अंकले घटेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधसभा पुनस्र्थापना गरिदिएसँगै बजारले गति लिने लगानीकर्ताको अपेक्षा विपरित बजारमा गिरावट आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर १० अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै २.९ प्रतिशतले घटेको छ भने हाइड्रोपावर विकास बैंक समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
आज कारोबारमा आएका २२९ कम्पनीमध्ये जम्मा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड रुपैयाँको बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक झन्डै ३५ करोड र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर साढे २९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले घटेको बजारमा आज युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ । यसैगरी, खानीखोला हाइड्रोपावर र ओरेन्टल होटको पनि मूल्य ५ प्रतिशभन्दा धेरैले घटेको छ ।
यस्तै, महुली सामुदायिक लघुवित्त, शिव श्री हाइड्रो, एचआइडीसीएल, हिमाल दोलखा र नेशनल हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले घटेको छ । यस्तै पाँचथर पावर, हिमालयन हिस्ट्रीलरी, नेरुडे लघुवित्तसहित १ दर्जन कम्प्नीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
घट्दो बजारमा आज समृद्धि फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.२४ प्रतिशत कमाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij