२०८२ मंसिर १२ गते शुक्रवार
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटलमा आज बिहान १० बजे आइपीओ बाँडफाँट गरिएको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले सेयर पाएका छन् । आवेदन दिने १९ लाख १५ हजार १७२ जनाको भने हात रित्तो भएका छ ।
लघुवित्तले असार १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
जसमा १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये रीत नपुगेका २ हजार ७५३ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मनकामनाको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि आइपीओमा परेको दोस्रो धेरै आवेदन हो ।
हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मनकामना स्मार्ट लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij