२०८२ मंसिर १२ गते शुक्रवार
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ११ वर्षपछि औपचारीक रूपमा विद्युत् उत्पादन भएसँगै उक्त कम्पनीको शेयरमूल्य आकाशिने आकलन गरिएको थियो । तर, उत्पादन सुरु भए पनि त्यसको प्रभाव कम्पनीको शेयरमूल्यमा देखिएको छैन । बरु उल्टै दुई दिनमै ८ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको छ ।
उत्पादन उद्घाटनको दिन पनि घटेको शेयरमूल्य भोलिपल्ट पनि ५ प्रतिशतले घट्न पुगेको छ । यो दुई दिनमा माथिल्लो तामाकोसीको शेयरमूल्य १ सय ७ रुपैयाँले घटेको हो ।
योसँगै मंगलबार १ सय ६ कम्पनीको शेयरमूल्यको अवस्था उस्तै रह्यो । कारोबारमा आएका कम्पनीमध्ये यी कम्पनीको शेयरमूल्य घटेको हो ।
शेयरबजार परिसूचक नेप्से ५ दशमलव २४ अंकले घटेर २९१९ दशमलव १० अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९७ अंकले घटेको छ ।
मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि संकुचित बन्न पुगेको छ । मंगलबार कारोबारमा आएका २ सय २० कम्पनीको १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता शेयर ४६ हजार ३ सय १० पटक किनबेच हुँदा कुल ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको छ ।
नेप्से सूचक ओरालो लागेसँगै उपसमूहका अधिकांश सूचक घटेका छन् । उपसमूहमा निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बीमाका सूचक बढेका छन् भने यीबाहेक सबै उपसमूहका सूचक घटेका छन् ।
घटेको बजारमा पनि राष्ट्रिय बीमा कम्पनीको भने १६ सय ९२ रुपैयाँ अर्थात् ८ दशमलव ३१ प्रतिशतले शेयरमूल्य बढेको छ । योसँगै माउन्टेन इनर्जीको ५ प्रतिशतले शेयरमूल्य घटेको छ । योबाहेक आजको कारोबारबाट ५६ अन्य कम्पनीले कमाए ।
यता १ सय ६ कम्पनीले गुमाउँदा सबैभन्दा अगाडि भने हाइड्रोइलेक्ट्रिसिटी आइपुगेको छ । यो कम्पनीको २६ रुपैयाँ अर्थात् ५ दशमलव ५३ प्रतिशतले शेयरमूल्य घटेको हो ।
सोही हारहारीमा माथिल्लो तामाकोसीको पनि शेयरमूल्य घटेको छ । यो कम्पनीको ३८ रुपैयाँले शेयरमूल्य घटेको छ । शेयरमूल्य घट्नेमा अगाडि आएको तामाकोसीमा लगानीकर्ताको चाप पनि उस्तै देखिन्छ ।
घट्नेमा दोस्रो नम्बरमा आएको माथिल्लो तामाकोसी आजको सर्वाधिक कारोबार भएको कम्पनीको सूचीमा पनि दोस्रो नम्बरमै छ । यसको आज एकै दिन २० करोड ५२ लाख ४६ हजार ८ सय ६ रुपैयाँको शेयर किनबेच भएको हो । योभन्दा अगाडि भने हिमालयन डिस्टिलरी छ । यो कम्पनीको ३५ करोड ८९ लाख २ हजार ७ सय ४५ रुपैयाँको शेयर किनबेच भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij