Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजारबाट राज्यलाई भयो यतिधेरै भर, यसरी उठ्यो उठ्यो इतिहासकै धेरै कर

सेयर बजारबाट राज्यलाई भयो यतिधेरै भर, यसरी उठ्यो उठ्यो इतिहासकै धेरै कर


  • 5.5K
    Shares

    सेयर बजारबाट राज्यलाई भयो यतिधेरै भर, यसरी उठ्यो उठ्यो इतिहासकै धेरै कर
    images

    चालू आर्थिक वर्ष शुरू भए यता सेयर बजार निरन्तर उकालो लागेको छ । सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।

     पछिल्लो १ वर्षको अवधिमा नेप्से सूचक करिब अढाई गुणाले बढेर ३००० विन्दु पार गरेको छ भने दैनिक कारोबार रकम २० अर्बसम्म पुग्यो ।

    निरन्तर सेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकारलाई पनि अत्याधि फाइदा भएको छ । सेयर बजार बढ्दा लगानीकर्ताले कमाउने नाफा पनि बढेसँगै सरकारले पाउने राजश्व पनि सयौं गुणाले बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार चालू आर्थिक वर्षको ११ महिना (साउन जेठमा) सरकारले सेयर बजार बजारबाट मात्रै १३ अर्ब ३३ करोड रुपैयाँ कर अशुल गरेको छ । यो ३ दशक लामो सेयर बजारको यात्रामा हालसम्मकै धेरै हो ।

    चालू आवमा सेयर कारोबारबापत अशुल भएको कर पछिल्लो ५ वर्षमा संकलन भएको कर भन्दा दोब्बरले धेरै हो । सरकारले आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्मको ५ वर्षको अवधिमा सेयर कारोबारबापत कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर संकलन गरेको थियो ।

    अघिल्ला वर्षहरूमा सेयर बजारमा सामान्य वृद्धि मात्र भएकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । चालू आवमा सेयर बजारले नयाँ कीर्तिमान बनाउँदा लगानीकर्ताले ११ महिनामै २ खर्ब ४२ अर्ब खुद नाफा कमाएके नेप्सेले जनाएको छ ।

    लगानीकर्ताले उल्लेख्य नाफा कमाउँदा सरकारले पाउने कर पनि सयौं गुणाले बढेको हो । सरकारले यसअघि आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारबाट सबैभन्दा धेरै १ अर्ब ८१ करोड रुपैयाँ कर संकलन गरेको थियो । सो बेला नेप्से त्यसबेलासम्मको सर्वाधिक १८०० विन्दु माथि पुगेको थियो ।

    लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।

    हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।

    इतिहासकै धेरै कर उठ्नुको यो हो कारण 

    विगतका वर्षहरुको तुलनामा चालू वर्षमा दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।

    चालू आवको ११ महिनामा एकदर्जन बढी कम्पनीले आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भइ कारोबारमा आइसकेका छन् । जसले सेयर कारोबारका साथै राजश्व समेत बढाउन सहयोग गरेका छन् ।

    यस्तै गत आवमा दैनिक औसतमा करिब ५० करोड हाराहारीमा कारोबार हुने गरेको थियो । चालू आवमा दैनिक कारोबार रकम २० अर्बसम्म पुग्यो भने औसतमा पनि दैनि १० अर्ब बढीको कारोबार हुँदै आएको छ ।

    यस्तै, गत आवको मंसिरसम्ममा करिब १८ हजारले मात्र अनलाइलान कारोबार गर्थे भने अहिले त्यो संख्या बढेर करिब ६ लाख पुगेको छ । नेप्सेका अनुसार हाल ८५ प्रतिशतभन्दा बढीले अनलाइनमार्फत नै सेयर कारोबार गर्न थालेका छन् ।

    अनलाइबाटै सहजै कारोबार गर्न सकिने भए पछि बजारमा नयाँ लगानीकर्ता उल्लेख्य रुपमा प्रवेश गरेका छन् भने यो क्रम बढ्दो छ । जसले कारोबार रकम र राजश्व दुवै बढ्न पुगेको हो ।

    सेयर बजार बढेसँगै लगानीकर्ताले नाफा कमाउँदा सरकारले पाउने पूँजीगत लाभकर समेत ह्वात्तै बढेको हो । चालू आवको जेठसम्म लगानीकर्ताले सेयर कारोबारबाट २ खर्ब ४२ अर्ब बढी खुद नाफा कमाएका छन् । जसबापत उनीहरुले पूँजीगत लाभकर मात्रै १२ अर्ब बढी तिरेका छन् ।

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १३:४१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij