२०८२ भाद्र २ गते सोमवार
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आय–व्ययको विवरण (बजेट) सार्वजनिक गरेको केही समयपछि केन्द्रीय बैंकको रूपमा रहेको राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ ।
मौद्रिक नीतिको तयारी स्वरूप अहिले यसका लागि राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरूसँग सुझाव संकलन गरिरहेको छ ।
सार्वजनिक सूचना नै जारी गरी राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव आह्वान गरेको थियो ।
अहिले राष्ट्र बैंकले विभिन्न क्षेत्रमार्फत मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘अहिले हामी छलफल र सुझाव संकलनकै चरणमा छौँ, विभिन्न सरोकारवाला, औद्योगिक, व्यापारिक, विभिन्न संघ–संगठनहरूसँग, बैंकर्स संघहरूसँग छलफल गरिरहेका छौं ।’
अर्थमन्त्रालयले संवैधानिक व्यवस्था बमोजिम जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यान्वयनमा सहयोग पुर्याउने गरी मौद्रिक नीति सार्वजनिक हुन्छ ।
बजेटमार्फत आगामी आर्थिक वर्ष २०७८/८९ का लागि सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
आगामी मौद्रिक नीति ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सहयोग पुर्याउनेतर्फ केन्द्रित हुनेछ, जसका लागि तरलता व्यवस्थापन गर्ने काम मौद्रिक नीतिले गर्नेछ ।
यस्तै ६.५ प्रतिशतको परिधिभित्र मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न पनि मौद्रिक नीतिले कार्यक्रम ल्याउने छ ।
यससँगै कोरोना महामारीले अर्थतन्त्रमा पुर्याएको क्षति न्यूनिकरण गर्दै अर्थतन्त्र पुनरुत्थान गर्नका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने प्रवक्ता ढकालले बताए ।
यस्तै व्यवसाय प्रवद्र्धन, उद्योग र पेशा व्यवसायको सबलीकरण, उत्पादन वृद्धि, रोजगारी वृद्धि, उद्यमशीलता विकासका लागि पनि मौद्रिक नीतिमा व्यवस्था हुनेछ ।
प्रवक्ता ढकालले वित्तीय स्थायित्वलाई सहयोग गर्ने, प्रवद्र्धन गर्ने जस्ता काममा मौद्रिक नीति केन्द्रित हुने बताए ।
मुद्रास्फीतिको नियन्त्रण, कर्जाको वृद्धि, रोजगारी प्रवद्र्धन, सोधनान्तर स्थितिमा चाप पर्न नदिनेतर्फ मौद्रिक नीति केन्द्रित हुनेछ ।
प्रवक्ता ढकालले कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्रमा परेको असर कम हुँदै गइरहेको भन्दै यसमा राष्ट्र बैंकको ‘विषेश प्याकेज’ आवश्यक नपर्ने बताए ।
यद्यपि सुझाव संकलन कार्य भइरहेको बताउँदै उनले केही धेरै प्रभावित क्षेत्रहरूको हकमा भने पुनरुत्थान कार्यक्रम ल्याउने बताए।
उनले भने, ‘एकदमै असर गरेको क्षेत्रलाई पुनरुत्थान गर्नेतर्फ त लाग्छौं, तर ठूलै चेञ्ज गर्नुपर्ने देखिन्न ।’
राष्ट्र बैंकले पछिल्लो समय वाणिज्य बैंकहरूको मर्जरका लागि प्रोत्साहन नीति ल्याइरहेको छ ।
सकेसम्म सहज रूपमा मर्जरका लागि प्रोत्साहन नीति लिएको भन्दै आगामी मौद्रिक नीतिले पनि मर्जरका लागि प्रोत्साहन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकका प्रवक्ता ढकालले मर्जरका लागि प्रोत्साहन गर्ने गरी नै मौद्रिक नीति आउने बताए ।
मर्जरको विषयसँगै बजारमा बैंकको पूँजी वृद्धिको पनि चर्चा चल्न थालेको छ । यद्यपि बैंकहरूको पूँजी वृद्धि गर्ने विषयमा राष्ट्र बैंकले वर्कआउट नगरेको उनको भनाइ छ ।
बैंकको पूँजी वृद्धि गरेको लामो समय नभएको भन्दै उनले अहिले यसको आवश्यकता भइनसकेको बताए ।
पछिल्लो समय शेयर बजार निकै उकासिएको छ । कतिपय सरोकारवालाहरूले शेयर बजारमा भएको यस वृद्धिलाई सामान्य भन्दा पनि फुकेको भनी अर्थ्याइरहेका छन् ।
यस बीचमा राष्ट्र बैंकले शेयर धितो कर्जालाई कडाइ गर्ने चर्चा चलिरहेको छ ।
यद्यपि राष्ट्र बैंकले भने लगानी सुरक्षित गर्नेतर्फ मात्रै केन्द्रीय बैंकको ध्यान हुने बताएको छ ।
हल्लाको पछाडि नलाग्न भन्दै विभिन्न कार्यक्रमहरूमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्ने गरेका छन्, ‘हामीले शेयर बजारलाई सुरक्षित बनाउनेछौँ, जसले गर्दा लगानीकर्ता सुरक्षित हुन सकुन् ।’
सेयर बजार अस्वाभाविक रुपमा उकालो लागिरहेको छ। कहिलेकाहीं अस्वाभाविक रुपमा ओरालो पनि लाग्ने गरेको छ। त्यसैले मौद्रिक नीतिले सेयर बजारमा कडाइ गर्नुपर्छ। अर्थतन्त्रका सूचक ओरालो लागिरहेका बेला सेयर बजारको सूचक भने उकालो लागिरहेको छ। जुन अस्वाभाविक छ भन्दै गभर्नरलाई कडाई गर्न एक पूर्व अर्थमन्त्रीले सुझाब दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij