२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले आफ्ना ऋणीलाई ५० देखि ६० करोड रुपैयाँसम्म छुट दिने भएको छ । बैंकले सबै कर्जाको ब्याजमा दिएको १० प्रतिशत छुटबाट समग्रमा सो रकम छुट दिनुपर्ने देखिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले गत शुक्रबार हरेक प्रकारका ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंकबाट आधा अर्बभन्दा बढी रकम छुट जाने देखिएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए ।
‘एक त्रैमासमा करिब साढे ४ अर्ब जति ब्याज संकलन हुने गरेको छ,’ उनले भने ‘ब्याज छुट दिनुपर्ने अवस्था एक त्रैमासको मात्र नभइ अन्य त्रैमासको पनि हुन सक्छ । अहिलेको प्रारम्भिक अनुमान अनुसार आधा अर्बभन्दा बढी छुट दिनु पर्ने हुन सक्छ ।’
गत वर्ष कोरोना महामारीका बेला राष्ट्र बैंकले नै कर्जाको ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन गरेको थियो । तर, अहिले त्यस्तो निर्देशन नदिइ बैंक आफैले आफ्नो अवस्था हेरेर छुट दिन सुझाएको छ । सोही अनुरुप बैंकले यो विषम परिस्थितिलाई मध्येनजर गर्दै आफ्ना ग्राहकलाई राहत र सहुलियत दिन यो सुविधा ल्याएको डेपुटी अधिकारीले बताए ।
यद्यपि यो छुट कर्जा लिँदा पहिला नै छुटको सुविधा पाएका ग्राहकले भने पाउने छैनन् । यसको अर्थ पुनरकर्जा लिएका तथा अन्य कुनै सुविधा लिएका ऋणीले यो छुटको व्यवस्था उपयोग गर्न नपाउने भनिएको हो । पहिला सेवा सुविधा नपाएका ऋणीले भने यो छुटको सुविधा पाउने उनले जानकारी दिए ।
आरबीबीबाट १ हजारभन्दा बढीले लिए पुनरकर्जा
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट २ हजार २१ जना ग्राहकले ३ अर्ब ७९ करोड मूल्य बराबरको पुनरकर्जा लिएका छन् । वाणिज्य बैंकबाट कर्जा लिनेमा अधिकांश साना तथा लघु उद्यमी रहेको बैंकले जानकारी दिएको छ ।
कोभिड महामारीको यो परिस्थितिमा एसएमई कर्जा लिनेको संख्या बढी भएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए । ‘हामीले राज्यले लिएको नीति अनुसार साना तथा मझौला एवम् महिला उद्यमीलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने गरेका छौं,’ उनले भने ‘५ करोडदेखि २० करोड कर्जा लिने ग्राहक त जम्मा ७ वटामात्रै छन् । साना उद्यम व्यवसायमै ३ अर्बभन्दा बढी कर्जा लगानी भएको छ ।’
निषेधाज्ञामा अझ बढी पुरनकर्जाको माग आएको छ,’ उनले थपे ‘सेवाग्राहीबाट आएको आवेदन हामीले राष्ट्र बैंकमा पठाइ सकेका छौ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij