२०८३ आश्विन २८ गते बुधवार
काठमाडौंं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।
प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्। दुई कोठा र शौचालयसहितका ती आवास वाईसीएल नेपालको पहलमा निर्माण गरिएका हुन्।
‘भोटेकोशी बाढी विकासको मोडलको असर हो’
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढी र त्यसले पुर्याएको अकल्पनीय क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताए। उनले विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलको असर नेपालले भोग्नुपरेको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको उल्लेख गरे। आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा तथा राष्ट्रसंघका महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको उनले स्मरण गरे।
प्रचण्डले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुगेको र आफ्नै उपस्थितिमा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै भवन निर्माणमा खटिएको वाईसीएललाई धन्यवाद दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij