Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज दिनभरको ३८ खबर एकै ठाउँमा

आज दिनभरको ३८ खबर एकै ठाउँमा


  • 631
    Shares

    आज दिनभरको ३८ खबर एकै ठाउँमा
    images

    १. भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययन समिति सभापति पौडेलद्वारा शपथ ग्रहण

    राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणसँगै समितिको पहिलो बैठक बिहीवार नै बसेको छ । बैठकका क्रममा बोल्दै समिति सभापति कृष्णप्रसाद पौडेलले सचिवालयको कार्यसम्पादन नै समितिको सफलताको आधार भएको बताउनु भयो ।

    २. भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश

    गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ वागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर समक्ष पेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिएको प्रतिवेदन बिहीवार मुख्यमन्त्री किरण थापा मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

    ३. पुस्तान्तरण, नवप्रवर्तन र राष्ट्रिय निकासका लागि मेरो उम्मेदवारीः नैनसिंह महर

    नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीको आन्तरिक जीवनलाई सशक्त बनाउँदै मुलुकलाई विद्यमान संकटबाट निकास दिन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ । 
    पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ९० वर्ष कटेका पुराना पुस्ताको अनुभवदेखि ‘जेन–जी’ तथा ‘अल्फा’ पुस्ताका नयाँ आकांक्षालाई एकाकार गरेर विश्वसँग प्रतिष्पर्धी काँग्रेस निर्माण गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताउनुभएको हो । 

    ४. पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ बनाउनुपर्छः उपसभापतिका उम्मेदवार गिरी

    नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीले पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ, अनुशासित र जनताप्रति थप जवाफदेही बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । बिहीवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पदका उम्मेदवार समेत रहनुभएका गिरीले यस्तो बताउनुभएको हो । पार्टीभित्रको सांगठनिक संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । 

    ५. नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’

    नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्नुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । नेता निधीले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाउनु भयो । उहाँले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने तर्क गर्नुभयो ।

    ६. नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुँदै

    नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रिय नेतृत्व चयनका लागि बिहीवार दिउँसो १ बजेदेखि मतदान प्रक्रिया शुरु हुँदैछ । राजधानी काठमाडौंमा गत आईतवारदेखि जारी महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि मतदान गर्न लागेका हुन् । केन्द्रिय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी तथा केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली बुधवार साँझ नै सार्वजनिक गरिसकेको छ । 

    ७. नेपाली काँग्रेसको १५ औं महाधिवेशनः मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित, भोलि बिहान ७ बजे शुरु हुने

    नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीवारका लागि निर्धारित मतदान प्रक्रिया प्राविधिक कारणवश स्थगित भएको छ । मतपत्र छपाइमा भएको ढिलाइ र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन समितिले मतदान प्रक्रिया शुक्रवार बिहान ७ बजेका लागि सारेको हो । नेपाली काँग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पत्रकार सम्मेलन गर्दै मतदान प्रक्रियामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक र व्यवस्थापकीय जटिलता भएको स्पष्ट पार्नुभयो । 

    ८. नेपाली काँग्रेस महाधिवेशनः निर्वाचन प्रक्रिया एक दिन लम्बियो, व्यवस्थापनको जिम्मा पार्टीले लिने

    नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया प्राविधिक कारणवश एक दिन पछाडि धकेलिएको छ । निर्वाचन समितिको तयारी र व्यवस्थापकीय कमजोरीका कारण निर्धारित समयमा मतदान हुन नसकेपछि पार्टीले भोलि बिहान ७ बजेदेखि मतदान शुरु गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसका नेता एवं निःवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठले महाधिवेशनमा सहभागी प्रतिनिधिहरू समक्ष निर्वाचनमा भएको ढिलाइप्रति क्षमायाचना व्यक्त गर्नुभयो । उहाँले प्राविधिक जटिलता र अत्यधिक मतपत्र छाप्नुपर्ने बाध्यताका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न नसकिएको स्पष्ट पार्नुभयो । नेता श्रेष्ठकाअनुसार करिव २ लाख २५ हजारभन्दा बढी मतपत्र छाप्नुपर्ने र सोही अनुरूपको व्यवस्थापन गर्नुपर्ने भएकाले समय लम्बिएको हो । 

    ९.जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर

    वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीबाट प्रभावित बस्ती तथा संरचनाको पुनर्निर्माण गर्दा जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने बताउनुभएको छ । उहाँले विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थान पहिचान गरी बस्ती स्थानान्तरण तथा पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रसुवामा बाढीबाट भएको क्षतिको अवस्थाबारे आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले तयार पारेको एकीकृत प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रमा पहिलेकै स्थानमा बस्ती पुनर्निर्माण गर्दा भविष्यमा थप जोखिम निम्तिन सक्ने बताउनु भयो । 

    १०. चाडबाडको मुखमा अनलाइन ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी

    बडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।

    ११. चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र, अखाद्य वस्तु बिक्री रोक्न सक्रिय

    चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडवाडको समयमा हुनसक्ने कालोबजारी, म्याद सकिएका वस्तुको बिक्री र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले महानगरको टोलीले बिहीबार सामाखुशी लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने गर्दछ । 

    १२. काठमाडौंमा लुटपाट मच्चाउने ‘माझी गिरोह’का नाइकेसहित पक्राउ, प्रहरीमाथि नै प्रहारको प्रयास

    काठमाडौं उपत्यकामा लामो समयदेखि श्रृंखलावद्ध लुटपाट, मोटरसाइकल चोरी र सुनका गरगहना लुट्ने कार्यमा सक्रिय ‘माझी गिरोह’का मुख्य नाइके आयन माझीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुराकीका आधारमा सञ्चालन गरेको अप्रेसनका क्रममा प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएर मुख्य अभियुक्त माझीलाई नियन्त्रणमा लिएको हो । 

    १३. काँग्रेसमा युवा र महिलाको आवाज बुलन्द गर्न मेरो उम्मेदवारीः बासना थापा

    नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली र मधेसका पछाडि पारिएका वर्ग तथा युवा र महिलाको आवाजलाई पार्टीको नीति निर्माण तहमा पु¥याउने आफ्नो मुख्य ध्येय रहेको बताउनुभएको छ । बिहीवार पार्टीको १५ औं महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

    १४. काँग्रेसको मत गणना निष्पक्ष र पारदर्शी हुन्छः निर्वाचन समिति संयोजक खड्का

    नेपाली काँग्रेसका निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पार्टीको आगामी निर्वाचनको मत परिणाम पूर्णतः निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले मत गणना कार्य बन्द कोठामा नभई मिडिया र प्रतिनिधिहरूको रोहबरमा सार्वजनिक रूपमा गरिने स्पष्ट पार्नुभएको हो । 

    १५. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

    नेकपा (एमाले) का वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ । पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । 

    १६. एमाले स्थायी कमिटी बैठक शुरुः पूर्वराष्ट्रपति भण्डारीको सहभागिता

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीवार पार्टीको केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रणनीतिबारे छलफल गर्न डाकिएको यो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो बढाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरूको उपस्थिति रहेको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे गहन छलफल हुने कार्यसूची रहेको छ । 

    १७. एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुहार फेरिन थालेको छ । आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तिब्र गतिमा भइरहेको छ । 

    १८. इफ यु सी समथिङ, से समथिङ’ः शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न प्रहरीको आग्रह

    चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैँमा सिमित नराखी तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो ।

    १९. आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित

    तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३ औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्युनिकरणसम्बन्धी आपत्कालीन प्रश्ताव दुई–तिहाईभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालद्वारा प्रश्तुत उक्त प्रश्तावलाई महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । 

    २०. काबुलमा बाल मुटु अस्पतालको शुरुवातः विपन्न परिवारका लागि ‘आशाको किरण’

    अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा हालै सञ्चालनमा आएको एक विशेष बाल मुटु अस्पतालले मुलुकभरका जन्मजात मुटुरोगबाट पीडित बालबालिकाका लागि जीवनदानको नयाँ ढोका खोलेको छ । चरम स्वास्थ्य सेवा अभाव र आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानमा यो अस्पताल गरिब परिवारका लागि आशाको केन्द्र बनेको छ । 

    २१. कोप–३१ का लागि मनोनीत अध्यक्ष कुरुमको आह्वानः ‘अब वार्ता होइन, ठोस जलवायु कार्यको समय’

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का लागि मनोनीत अध्यक्ष मुरात कुरुमले विश्व समुदायलाई जलवायुजन्य जोखिम कम गर्न तत्काल ठोस कदम चाल्न आह्वान गर्नुभएको छ । फिजीको नाडीमा आयोजित पूर्व–सम्मेलनमा बोल्दै उहाँले अबका छलफलहरू नीतिगत बहसभन्दा माथि उठेर कार्यान्वयनयोग्य परियोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो । 

    २२. चीनको ‘गोल्डेन विक’ मा बढेको आकर्षणः पर्यटकीय गन्तव्य बन्दै साना शहरहरू

    चीनको राष्ट्रिय दिवसका अवसरमा दिइने सात दिने लामो बिदा ‘गोल्डेन विक’ को अवधिमा चीनका साना शहर र काउन्टीहरू पर्यटकीय आकर्षणको केन्द्र बनेका छन् । ठूला शहरहरूको भीडभाडबाट टाढा, स्थानीय संस्कृति, ऐतिहासिक सम्पदा र खेलकुद गतिविधिका लागि प्रसिद्ध यी क्षेत्रहरूमा पर्यटकको चाप यस वर्ष उल्लेख्य रूपमा वृद्धि भएको छ । 

    २३. टर्कीमा नवीकरणीय ऊर्जाको कीर्तिमानी उत्पादनः विद्युत क्षेत्रमा नयाँ युगको शुरुवात

    टर्कीले सन् २०२४ को पहिलो आठ महिनामा नवीकरणीय ऊर्जाको क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयकाअनुसार जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा कुल विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ६०.३ प्रतिशत पुगेको छ, जुन सन् २००० यताकै उच्च रेकर्ड हो । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशको हरित ऊर्जाको यात्रामा ठूलो फड्को मारेको देखाएको छ । 

    २४. दक्षिण कोरियाको ‘नूरी’ रकेट प्रक्षेपणः १५ मध्ये १४ स्याटेलाइट मात्रै कक्षमा स्थापित

    दक्षिण कोरियाको स्वदेशी प्रविधिमा निर्मित ‘नूरी’ रकेटले बुधवार सफलतापूर्वक उडान भरे पनि अन्तिम चरणमा प्राविधिक त्रुटि देखिएको छ । कोरियाली अन्तरिक्ष प्रशासनकाअनुसार १५ वटा स्याटेलाइट बोकेर गएको उक्त रकेटले १४ वटा मात्रै तोकिएको कक्षमा सफलतापूर्वक स्थापना गर्न सकेको छ । बुधवार स्थानीय समय अनुसार दिउँसो १२ः२५ बजे सोलबाट ४०० किलोमिटर दक्षिण–पश्चिममा रहेको नारो स्पेस सेन्टरबाट ‘नूरी’ रकेटले उडान भरेको थियो । 

    २५. पिङलु नहर सञ्चालनमाः चीन–आसियान व्यापारमा नयाँ कोसेढुङ्गा

    चीनको सिजियाङ नदी र बेइबु खाडीलाई जोड्ने १३४.२ किलोमिटर लामो ‘पिङलु नहर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यो परियोजनाले दक्षिण–पश्चिम चीनदेखि आसियान राष्ट्रहरूसम्मको व्यापारिक ढुवानीमा आमूल परिवर्तन ल्याउने र ढुवानी लागत तथा समयमा उल्लेख्य कटौती गर्ने अपेक्षा गरिएको छ । गत सेप्टेम्बर १६ मा जलयात्राका लागि औपचारिक रूपमा खुला गरिएको यो नहरले चीनको आन्तरिक जलमार्ग प्रणालीमा रणनीतिक महत्व राख्छ । 

    २६. मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा सतर्कताको आग्रह

    मङ्गोलियामा पछिल्लो केही महिनायता आवासीय क्षेत्रमा भालु देखिने क्रम बढेको छ । राजधानी उलान बटोरलगायत विभिन्न प्रान्तमा भालुको उपस्थिति र तिनले पशुधनमाथि गरेको आक्रमणका घटनाले स्थानीय जनजीवन त्रसित बनेको छ । प्रशासनले नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

    २७. यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी

    यमनका हुथी विद्रोही समूहका नेता अब्देल–मालिक अल–हौथीले साउदी अरब नेतृत्वको सैन्य अभियानमा सामेल नहुन टर्की र पाकिस्तानलाई आग्रह गर्नुभएको छ । रियादले टर्की र पाकिस्तानसँग रक्षा सहयोग बढाउँदै गर्दा अल–हौथीले बुधवार एक टेलिभिजन सम्बोधनमार्फत दुवै मुलुकलाई द्वन्द्वको भूमरीमा नफस्न सचेत गराउनुभएको हो । हुथी नियन्त्रित अल–मसिराह टीभीमार्फत सार्वजनिक सम्बोधनमा अल–हौथीले टर्की र पाकिस्तानभित्रका केही आवाजहरूको प्रशंसा गर्दै उनीहरूले साउदी अरबको सैन्य अभियानलाई अस्वीकार गरेको दाबी गर्नुभयो ।

    २८. स्लोभाकियामा डान्युब नदीको बहाव १ सय १५ वर्षयताकै न्युन

    युरोपको प्रमुख जीवनरेखा मानिने डेन्युब नदीले आफ्नो बहावको ऐतिहासिक न्युन बिन्दु छोएको छ । स्लोभाकियाको राजधानी ब्राटिस्लाभस्थित डेभिन क्षेत्रमा नदीको दैनिक औसत बहाव ५७५.९ घनमिटर प्रतिसेकेण्डमा झरेको स्लोभाक हाइड्रोमेटियोरोलोजिकल इन्स्टिच्युटले पुष्टि गरेको छ । प्रवक्ता इभान गारकारकाअनुसार यो तथ्यांक सन् १९०० मा मापन शुरु भएयताकै सबैभन्दा कम हो । 

    २९. काँगे्रस महाधिवेशनमा नेताहरुको संकल्पः ‘काँग्रेसलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ’

    नेपाली काँग्रेसको १५ औँ महाविधेशन अन्तर्गत विहीवार नयाँ नेतृत्व चयन गर्नको लागि मतदान हुँदैछ । पार्टीको विभिन्न पदमा उम्मेद्वारी दिएका नेताहरु महाविधेशन प्रतिनिधिसंग मतदानस्थल खुला मञ्च, भृकुटीमण्डप, प्रज्ञाप्रतिष्ठान लगायतका क्षेत्रमा आफूलाई मत मागिरहेका छन् ।

    ३०. काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका चिरीबाबु महर्जन भन्छन्, ‘काँग्रेसले अब कुरा होइन, डेलिभरी दिन सक्नुपर्छ’

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली काँग्रेसले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकासमा ‘डेलिभरी’ दिनुपर्ने बताउनुभएको छ । काँग्रेसले अब विगतका कामको चर्चा गरेर मात्रै नहुने उहाँले बताउनु भयो । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रिय कार्यसमितिको खुला सदस्य पदमा उम्मेदवारी दिनुभएका महर्जनले आफू दुई कार्यकाल ललितपुर महानगरपालिकाको प्रमुखका रूपमा काम गरेको अनुभव पार्टीको नीति निर्माण र कार्यसम्पादनमा उपयोग गर्न उम्मेदवारी दिएको बताउनु भयो । 

    ३१. विपद्पछिको पुनर्निर्माणमा सरकार र नागरिक संस्थाबीच समन्वय आवश्यकः सरोकारवाला

    विपद्पछिको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकार र नागरिक संस्थाबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले तीन वटै तहका सरकार, नागरिक समाज र गैरसरकारी संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । 

    ३२. ‘खडेबाबा’ समस्या यही वर्षदेखि अन्त्य गर्छौँ, विशेषज्ञलाई एकभन्दा बढी मेडिकल कलेजमा अध्यापन गर्न दिइनुपर्छः अध्यक्ष कार्की

    नेपालका निजी मेडिकल कलेजहरूको साझा छाता संगठन निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रसिंह कार्कीले निजी मेडिकल कलेजमा विद्यमान ‘खडेबाबा’ समस्या यही वर्षभित्र अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने ‘खडेबाबा’ अर्थात घोस्ट फ्याकल्टीको समस्या अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

    ३३. अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाको अल्टिमेटमः सम्पर्कमा नआए सिआईबीमाफर्त कारबाही प्रक्रिया अघि बढाउने सरकारको तयारी

    सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि काबारही प्रक्रिया अघि बढाएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले त्रिभूवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 

    ३४. आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी, आवासीय चिकित्सकलाई छिट्टै काममा फर्काउने प्रतिवद्धता

    वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ । बिहीवार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नुभएको हो । 

    ३५. एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

    नेकपा (एमाले) ले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन् । उहाँले अगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताउनु भयो । उपमहासचिव भट्टले नगर र वडा अधिवेशन लगत्तै सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय समेत गरेको छ । 

    ३६. त्रिभूवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित, बजेट अभावमा सञ्चालन खर्च जुटाउनै सास्ती

    त्रिभूवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रश्तावित ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ । बिहीवार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गर्नुभएको उक्त बजेट स्वीकृत गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो । सभाको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार शिवाकोटीले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रश्ताव गर्नुभएको थियो । 

    ३७. यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदैः व्यवस्थापन संकायका मात्रै ४३ हजार बढी

    त्रिभूवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । 
    बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दिक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो । त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गर्नुभएको विवरणअनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ । ग्रेस लिस्टमा परेका विद्यार्थी मध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका रहेका छन् ।

    ३८. ऋण लिएर ऋण तिर्दै सरकार

    पछिल्लो समय राज्यले ऋण तिर्न ऋण नै लिएको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ प्रतिवेदनमा सरकारले आन्तरिक ऋणको परिचालन बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमै खर्च भइरहेको देखाएको हो । जसका कारण आन्तरिक ऋण परिचालनबाट पुँजी निर्माण र अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न नसकेको आयोगले औंल्याएको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - २०:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij