Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आजदेखि एसीसी प्रिमियर कप सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

आजदेखि एसीसी प्रिमियर कप सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै


  • 1.5K
    Shares

    आजदेखि  एसीसी प्रिमियर कप सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै
    images

    काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया पनि छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

    समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ । हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।

    नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकोमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।

    एसियन क्रिकेट काउन्सिल (एसीसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

    गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ०८:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij