२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सङ्घीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ का प्रारम्भिक आठ दफालाई परिमार्जनसहित पारित गरेको छ । सोमबार बसेको समितिको बैठकमा भएको दफावार छलफलपछि विधेयकका दफा १ देखि ८ सम्मका व्यवस्थामा सहमति जुटेको हो ।
समिति सचिव लक्ष्मण अर्यालका अनुसार विधेयकका दफा १, २, ३ र ५ लाई प्रस्तावित व्यवस्थाअनुसार नै पारित गरिएको छ । यस्तै, दफा २ अन्तर्गतका विभिन्न उपदफा र दफा ३ मा समेत कुनै संशोधन गरिएको छैन ।
समितिले दफा ४ मा रहेको नेपाल राष्ट्र बैंकको उद्देश्यलाई थप स्पष्ट पार्दै मूल्य स्थिरता कायम गर्ने, बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने र सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग गर्ने विषय समेटेको छ ।
त्यस्तै, दफा ६ मा रहेको सरकारी वित्त तथा विकासात्मक कार्य (क्वासी–फिस्कल अपरेसन) सम्बन्धी व्यवस्था हटाइएको छ । सोही दफाको उपदफा २ मा ‘कर्जा’ शब्दपछि ‘सापटी’ शब्द थप गरी कानुनी दायरा फराकिलो बनाइएको छ ।
विधेयकको दफा ८ को उपदफा ५ मा वैदेशिक सहायता प्राप्त गर्ने व्यवस्थामा पनि संशोधन गरिएको छ । अब अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट ऋण, अनुदान वा प्राविधिक सहायता लिन नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको मात्र नभई नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी स्पष्ट व्यवस्था नभएकाले संशोधन विधेयकमार्फत त्यसलाई थप व्यवस्थित गर्न खोजिएको हो ।
समितिले प्रारम्भिक दफाहरू टुंग्याएसँगै बाँकी दफामाथिको छलफल क्रमशः अघि बढाउने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij