२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आइतबार दोहोरो रेकर्ड बनेको पुँजीबजारमा आज सामान्य करेक्सन आएको छ। आइतबार नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेर दोहोरो रेकर्ड कायम भएको थियो।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा कायम भएको छ। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ०.३८ अंकले घटेर ५२०.६४ विन्दुमा कायम भएको छ।
नेप्सेमा आज कूल १५ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २२१ वटा कम्पनीका तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर एक लाख ५१ हजार ९४२ पटक खरिद-बिक्री भएका थिए।
आज पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ। युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ४.५५ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ६२ करोड १७ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेसनल हाइड्रोपावर कम्पनीका १६ लाख ५४ हजार ४९८ कित्ता सेयर किनबेच भएका थिए। नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सेयर सबैभन्दा बढी छ हजार ६६४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, म्युच्अल फण्ड तथा अन्य समूहका परिसूचक बढ्दा बाँकी समूहका परिसूचक घटेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij