२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
बुधबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एभरेष्ट बैंकमा स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन तथा कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ।
कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम तथा विवरणका आधारमा खाता अद्यावधिक गर्ने र बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनेछ।
यस्तै, कर्मचारीहरूले कोषमा जम्मा गरेको रकमबाट प्राप्त हुने ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियमावलीअनुसार प्राप्त गर्नेछन्।
सम्झौतामा आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम तथा बहाल रहेका कर्जासमेत नागरिक लगानी कोषमा रकमान्तर गरी समायोजन गरिने व्यवस्था गरिएको उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij