२०८३ कार्तिक ३ गते सोमवार
काठमाडौं । नेपालका विभिन्न भागमा जारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात अवरुद्ध भएको छ।
कोशी प्रदेशको भोजपुर र सङ्खुवासभामा यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका-५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ, जहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका-३, नयाँ बस्तीमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
काभ्रेपलान्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी सडक खण्डमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी जिल्ला बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका-१०, बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, जलथलेमा पहिरोका कारण बेनी-जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा छ।
कर्णाली प्रदेशको हुम्ला जिल्ला, नाम्खा गाउँपालिका-२ मा पहिरोको जोखिम बढेका कारण हिल्सा-सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij