२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारण सभाको प्रमुख अतिथीमा पूर्वमन्त्री भगबती चौधरी रहेका थिए।
सो अवसरमा बोल्दै पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आवद्ध भएका महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताइन्। राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यहरुलाई सुझाव दिँदै चौधरीले आफूले लिएको कर्जालाई उत्पादन हुने क्षेत्रमा मात्र लगानी गर्न आग्रह गरिन्।
सभामा बोल्दै निवर्तमान सञ्चालक आशुतोष शर्मा सापकोटाले आन्तरिक तथा बाह्य कारणबाट लघुवित्त क्षेत्रमा देखापरेको नकारात्मक प्रभाव वित्तीय संस्थाहरुमा चुनौती बढ्दै गएकाले त्यसलाई सामना गर्दै अघि बढ्न आग्रह गरिन् । नवनियुक्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले वित्तीय संस्थाको सबलताका लागि निरन्तर लागि रहने प्रतिबद्धता गरिन् ।
संस्थाका कम्पनी सचिव विनोद कुमार चौधरीद्वारा सञ्चालित कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका ट्रेजरी विभागका प्रमुख कृष्ण शाह, वित्तीय संस्थाका सञ्चालक जगत जंग जि।सी।लगायतले मन्तव्य बोल्नु भएको थियो । सभामा ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलावती चौधरी, निर्वतमान सञ्चालक कमलसिंह राजवंशी, राजकुमारी चौधरी, संस्थागत तथा व्यक्तिगत शेयर धनीलगायतको उपस्थिति रहेको थियो ।
सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पारित गरेको थियो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१\८२ को नाफारनोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८१\८२ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको थियो । सभाले संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकहरुको निर्वाचन प्रक्रियाबाट चयन गरेको थियो ।
निर्वाचन अधिकृत प्रेम प्रसाद पोखरेलले व्यक्तिगत संस्थापक शेयर समूहका तर्फबाट भगबती चौधरी, सर्वसाधारण शेयरधनी समूहकातर्फबाट जगत जंग जि.सी. तथा बोधराज नेपाल, एभरेष्ट बैंकको तर्फबाट विष्णु प्रसाद ज्ञवाली, ग्रामीण महिला उत्सुकता मञ्चको तर्फबाट गोविन्द चौधरी आगामी कार्यकालका लागि सञ्चालक सदस्य पदमा निर्वाचित भएको घोषणा गरेका थिए।
सभामा विशेष प्रस्तावका रूपमा वित्तीय संस्थाको हाल कायम पुँजी संरचना संस्थापक समूह र सर्वसाधारण समूह शेयर संरचना क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकामा संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयरलाई कुल चुक्ता पुँजीको १० प्रतिशत विन्दुले सर्वसाधारण शेयर परिवर्तन गरी नयाँ शेयर समूह र सर्वसाधारण समूह क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको थियो । साथै वित्तीय संस्थाको पुंजीवृद्धि योजना, प्रबन्धपत्रका दफा तथा नियमावली संशोधन गर्ने तथा अन्य ‘घ’ वर्गका लघुवित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने लगायतका प्रस्ताव समेत पारित गरिएको थियो ।
सभाका अध्यक्ष केशवराज पौडेलका अनुसार वित्तीय संस्थाले २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको छ । त्यसै गरी हालसम्म १ लाख २३ हजार ऋणी ग्राहक सदस्यसँग २२ अर्ब २४ करोड १२ लाख ३३ हजार लगानीमा बाँकी रहेको कर्जा रहेको छ ।
वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट १० अर्ब ७३ करोड ६९ लाख ७६ हजार बचत सङ्कलन गरेको छ । संस्थामा ६९५ कर्मचारी कार्यरत छन् भने तीमध्ये ५० प्रतिशत महिला कर्मचारी रहेको र ग्राहक सदस्यहरूलाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम प्रदान गर्ने गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij