२०८२ चैत्र १७ गते मंगलवार
सुर्खेत । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका चार किशोरलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको छ ।
अदालतले अनुसन्धान प्रक्रिया नसकिँदासम्म उनीहरूलाई बालसुधार गृहमै राखेर मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले उनीहरूविरुद्ध दर्ता भएको जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रारम्भिक प्रमाण र घटनाको प्रकृति गम्भीर देखिएकाले पुर्पक्षका लागि बालसुधार गृहमा राख्ने निर्णय गरेको हो ।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनासँग सम्बन्धित प्रमाण, अनुसन्धानको अवस्था र अभियोग हेर्दा अनुसन्धान पूरा नभएसम्म थुनामै राखेर मुद्दा अगाडि बढाउन आवश्यक देखिएको अदालतको ठहर छ । कानुनी व्यवस्थाअनुसार उनीहरूलाई कारागार नभई बालसुधार गृहमा राखिनेछ ।
गत फागुन २३ गते बिहान विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया इनिशा सोहीदिन घर नजिकैको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रबाट प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएकोको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै घटनास्थलबाटै उनका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो।
किशोरसंगको सोधपुछ र बयानका आधारमा प्रहरीले थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका प्रेमी भनिएका किशोरले इनिशासँग शारीरिक सम्पर्क भएको र त्यसपछि अत्यधिक रक्तश्राव भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्षसहित चारै जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
घटनाको न्यायिक प्रक्रिया सुरु भइसके पनि पीडित परिवार भने अझै आन्दोलनरत छन् । दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै परिवारले शव नउठाउने अडान लिएका छन् । परिवारको उक्त अडानका कारण इनिशाको शव विगत २५ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij