२०८२ चैत्र १७ गते मंगलवार
१. सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने
नेपाली काँग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरूको बैठक बसी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिइएको छ । बैठकमा पार्टीका शिर्ष नेताहरूसहित करिव ८३ जना केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा बोल्ने १५ जना केन्द्रिय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएको काँग्रेस नेता मानबहादुर नेपालीले बताउनु भयो । नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष (गगन थापा पक्ष) संवेदनशील नभएको आरोप लगाउनु भयो ।
२. महासंघ निर्वाचनको सरगर्मीः अध्यक्ष ढकालको अञ्जन श्रेष्ठलाई चेतावनी— ‘गुटबन्दी भए म पनि मौन बस्दिनँ’
नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीले उचाई लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । आगामी हप्ता हुने निर्वाचनमा दुई स्पष्ट समूहहरू प्यानलसहित भिड्ने तयारीमा रहेका बेला अध्यक्ष ढकालले भावी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष) अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी’ नगर्न र ‘तटस्थ’ रहन चेतावनी दिनुभएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि ‘कन्फर्म’ अध्यक्ष हुन् । तर श्रेष्ठले पर्दापछाडि आफ्नो प्यानल बनाएको र चुनावी अभियानमा सक्रिय भएको आरोप लगाउँदै अध्यक्ष ढकालले यस्तो कार्य विधानको मर्मविपरीत भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली किन ल्याइएको थियो भन्ने कुराको स्मरण गराउँदै नेतृत्वको इमान्दारितामाथि प्रश्न उठाउनु भयो । नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको भएपनि त्यसको दुरुपयोग भइरहेको उहाँको आशय छ ।
३. पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे
नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । मंगलवार पूर्णबहादुर खड्का र शेखर कोईराला पक्षको केन्द्रिय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताउनु भयो । राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै उहाँले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिनुभयो । गत शनिवार जेन जी आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।
४. नेपाली काँग्रेसको संस्थापन इतर पक्षको केन्द्रिय समिति बैठक जारी
नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच संस्थापन इतर पक्ष (पूर्वसभापति शेरबहादुर देउवा समूह) ले बोलाएको केन्द्रिय समिति बैठक काठमाडौंमा जारी छ । बैठकलाई पूर्वसभापति देउवा निकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले अध्यक्षता गर्नुभएको हो । बैठकमा तीनवटा मुख्य एजेण्डामा छलफल भइरहेको बताइएको छ । यो बैठक निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा–कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको सन्दर्भमा आएको हो । नेपाली काँग्रेसमा हाल गगन थापा नेतृत्वको पक्ष र देउवा–खड्का–कोईराला पक्षबीच आधिकारिकता र पार्टी संरचनाको विषयमा विवाद छ । संस्थापन इतर पक्षले यो बैठकलाई पार्टीको एकता र भावी रणनीति तय गर्न महत्वपूर्ण मानिरहेको छ । बैठकमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल गरिरहेका छन् ।
५. निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून नै सबैभन्दा महत्वपूर्ण हुने बताउनुभएको छ ।
निर्माण व्यवसायी महासंघको चुनावी सरगर्मीका बीच आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य र व्यवसायीबीच हुने सम्झौता ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) अवस्थामा हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले इजरायल र इरानबीचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेक्का लिइसकेका व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै यसलाई सम्बोधन गर्न कानून नै परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले आफू पनि निर्माण व्यवसायीकै पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गर्दै महासंघमा आफूले सह–कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा काम गरिसकेको बताउनु भयो । उहाँले निर्माण व्यवसाय इन्जिनियरिङ, प्रविधि र विज्ञानसँग जोडिएको विषय भएकोले यसलाई बुझ्ने प्राविधिक र सक्षम नेतृत्व आवश्यक रहेको बताउनु भयो । आफू वागमती प्रदेशको आर्थिक मामिला मन्त्री र मुख्यमन्त्री हुँदा निर्माण व्यवसायीको मर्का बुझेर काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
६. निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानूनमा आवश्यक संशोधन र प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । महासंघको आसन्न अधिवेशनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले निर्माण व्यवसायलाई मर्यादित र सबल बनाउन नीतिगत सुधार नै मुख्य बाटो भएको बताउनुभएको हो । आफ्नो कार्यकालको समीक्षा गर्दै अध्यक्ष सिंहले २०७६ सालदेखि निर्माण व्यवसायीहरूको शिर ननिहुरिने गरी उद्योगको हितमा काम गरेको दाबी गर्नुभयो । उहाँले विगतमा भएका विभिन्न आन्दोलन र संघर्षका कारण सार्वजनिक खरिद नियमावलीमा पटक–पटक संशोधन गराउन सफल भएको र सरकारसँग महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गराउनु भयो । अध्यक्ष सिंहले निर्माण व्यवसाय क्षेत्रमा रहेका प्राविधिक र नीतिगत जटिलताहरूलाई चिर्दै अगाडि बढ्न महासंघको आगामी नेतृत्व अझ सशक्त हुनुपर्ने बताउनु भयो ।
७. निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताउनुभएको छ । महासंघको ६० ऋौं साधारण सभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर शुरु भइसकेको जानकारी दिनुभयो । आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गर्दै ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ (निजी क्षेत्र सुरक्षा तथा प्रवद्र्धन योजना) लाई ठूलो सफलताका रूपमा लिनुभयो । उहाँकाअनुसार वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।
८. निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभामा हुने निर्वाचनमा वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महासंघको आगामी निर्वाचन प्रक्रियालाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको तर निर्वाचनपछि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूबीचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो ।
९.निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष एवं आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रको एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महासंघको ६० औं वार्षिक साधारण सभाको सन्दर्भमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालमा थप चुनौतीहरूको सामना गर्न आफू तयार रहेको बताउनुभएको हो । ढकालले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल ऐतिहासिक रूपमा सफल रहेको बताउनु भयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र त्यसले दिएका सुझावहरू कार्यान्वयनको चरणमा रहेको बताउँदै ढकालले वर्तमान सरकार निजी क्षेत्रका एजेण्डाप्रति सकारात्मक रहेको उल्लेख गर्नुभयो । ढकालले आफूसँगै चुनावी मैदानमा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेश दास, जिल्ला नगरका उम्मेदवार उमेश डालमिया, कल्पना गैह्रे र एसोसिएटका उम्मेदवारहरूको प्रशंसा गर्दै उनीहरूलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले महासंघभित्र गुटबन्दी भन्दा पनि एउटै टिम बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
१०. दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
दिनेश खरेलको उत्कृष्ट बलिङमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लवले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । वीरगञ्जमा मंगलवार भएको खेलमा पुलिसले कोशी प्रदेशमाथि ६ विकेटको सहज जित निकाल्दै जारी प्रतियोगितामा तेस्रो जित आत्मसात गरेको हो । पुलिसको जितमा दिनेशले पाँच विकेट दिलाए । पाँचौं खेलमा तेस्रो जितसँगै पुलिस अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । नारायणी क्रिकेट मैदानमा कोशीले एक सय ६३ रनको सामान्य लक्ष्य दियो । जवाफमा पुलिसले पुलिसले ३३.५ ओभरमा मात्र चार विकेट गुमाएर पूरा ग¥यो । ७.६ ओभरमा ११ रन जोड्दा पुलिसका चार ब्याटर आउट भए । यससँगै पुलिसले निकै खराब शुरुवात ग¥यो । ओपन दिनेश खरेल २ रनमा आउट भए । त्यसपछि तीन ब्याटर शंकर राना, अमित श्रेष्ठ र दिलसाद अलीले खाता नै खोल्न सकेनन् । तर पाँचौं विकेटका लागि कप्तान आरिफ शेख र रसिद खानले १५४ रनको बलियो साझेदारी गर्दै पुलिसलाई जित दिलाए । कप्तान आरिफ शेखले ८१ रनको अर्धशतकीय इनिङ खेले । ७९ बलको सामना गरेका आरिफले ११ चौका र १ छक्का प्रहार गरे । रसिदले ९० बलमा ८ चौका र १ छक्का हिर्काए ।
११. खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा
शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सार्नुभएको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुग्नुभएका मन्त्री पोखरेलले सो घोषणा गर्नुभएको हो । मन्त्री पोखरेलले अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याउनु भयो । काठमाडौं महानगरपालिकामा रहँदा शुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१२. एमाले सचिवालय बैठक जारी (तस्बिरसहित)
नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीले दोस्रो पटक बैठक बोलाएको हो । बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानूनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ । बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो । आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरू उपस्थित छन् भने अध्यक्ष ओलीको कुर्सी खाली राखिएको छ ।
१३. ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’ः वीरबहादुर बलायर
नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले समग्र पार्टी नै कमजोर बनेको भन्दै नेतृत्वलाई दम्भ त्यागेर एकताको बाटो रोज्न आग्रह गर्नुभएको छ । पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र समूहगत गतिविधिहरूलाई लिएर संस्थापन पक्षले ‘कारबाहीको डन्डा’ चलाउने तयारी गरिरहेको चर्चाका बीच बलायरले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले पार्टीभित्र भइरहेका गतिविधिहरूलाई ‘समानान्तर’ भन्न नमिल्ने तर्क गर्दै यसलाई काँग्रेसप्रतिको चिन्ता र चासोका रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले दुवै पक्षले दम्भ त्यागेर बीचको बाटो अपनाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । पार्टीको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै बलायरले अहिले काँग्रेसमा कोही पनि चोखो नरहेको बताउनु भयो ।
१४. ‘शिक्षाभन्दा खेलकुद पहिलो’ः खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा उहाँले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको हो । सांसद लामिछानेले मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप शुरु हुने भन्दै शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनु भयो । आफ्नो अध्ययनका क्रममा दक्षिण कोरियाको अनुभव सुनाउँदै लामिछानेले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने उहाँको भनाइ छ ।
१५. अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् । यो घटना सान क्रिस्टोबाल शहरको एक विद्यालयमा स्थानीय समय अनुसार बिहान ७ बजेतिर भएको हो । एक १५ वर्षीय विद्यार्थीले शटगन बाट गोली चलाउँदा १३ वर्षीय अर्का विद्यार्थीको मृत्यु भएको थियो । स्थानीय सञ्चारमाध्यमकाअनुसार विद्यालयको प्राङ्गणमा विद्यार्थीहरू झण्डोत्तोलन समारोहका लागि भेला भइरहेका बेला उक्त गोलीकाण्ड भएको थियो । सोही क्रममा विद्यालयका एक कर्मचारीले आक्रमणकारीलाई नियन्त्रणमा लिई हतियार कब्जामा लिएका थिए ।
१६. उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त दुर्घटना हेलिन शहरको हेलिन टाउनमा भएको हो । जहाँ नौ जना मानिसहरू भग्नावशेषमा फसेका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ र उनीहरूको चोटपटक ज्यान लिने खालको छैन । अन्य सात जनाको भने मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनाको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।
१७. म्यानमारको तल्लो सदनले मिन आङ ह्लाइङलाई उपराष्ट्रपतिका लागि मनोनयन ग¥यो
म्यानमारको पिथु ह्लुट्टा (तल्लो सदन) ले सोमवार मिन आङ ह्लाइङलाई उपराष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन गरेको छ । यो मनोनयन देशको राष्ट्रपति निर्वाचनको लागि एक प्रारम्भिक कदम हो । म्यानमारको संविधानअनुसार संघीय संसदले अन्ततः तीन उपराष्ट्रपति उम्मेदवारहरूमध्येबाट एकजनालाई राष्ट्रपति चयन गर्नेछ । बाँकी दुई उम्मेदवारहरू उपराष्ट्रपतिको रूपमा रहनेछन् । यो प्रक्रिया म्यानमारको नयाँ सरकार गठनको महत्वपूर्ण हिस्सा मानिन्छ ।
१८. ये विन ऊ म्यानमारको रक्षा सेवाको प्रधानसेनापतिमा नियुक्त
ये विन ऊ म्यानमारको रक्षा सेवाको प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । ये विन ऊले मिन आङ ह्लाइङलाई प्रतिस्थापन गर्नुभएको हो । जसले मार्च ३०, २०११ देखि प्रधानसेनापतिको रूपमा सेवा गर्नुभएको थियो । प्रधानसेनापतिको पद हस्तान्तरण समारोह सोमवार बिहान नेपिटोको जेयाथिरी बेइकम्यानमा सम्मान गारदका साथ सम्पन्न भएको छ ।
१९. रुसले क्युबालाई तेल आपूर्ति जारी राख्ने
क्यारेबियन टापु राष्ट्र क्युबाले गम्भीर ऊर्जा संकटको सामना गरिरहेका बेला रुसले त्यहाँ तेल आपूर्ति जारी राख्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । यसअघि रुसी यातायात मन्त्रालयले रुसी ट्याङ्करमार्फत लगिएको कच्चा तेलको मानवीय ढुवानी क्युबा पुगेको जानकारी दिएको थियो । पेस्कोभले मस्को क्युबाको वर्तमान कठिनाइप्रति उदासीन रहन नसक्ने र यस विषयमा निरन्तर काम गरिरहने बताउनु भयो । वर्तमान परिस्थितिमा क्युबालाई आवश्यक सहयोग उपलब्ध गराउनु रुसले आफ्नो कर्तव्य ठानेको छ र पछिल्लो ढुवानी त्यहाँ पुगेकोमा रुस खुशी रहेको उहाँले बताउनु भयो । रुसी यातायात मन्त्रालयले एनातोली कोलोदकिन नामक ट्याङ्करले मानवीय सहायताका रूपमा करिव १ लाख टन कच्चा तेल क्युबा पु¥याएको जनाएको छ ।
२०. भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै
नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ गर्ने भएको छ । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरि चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको हो । मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिनुभयो । कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पु¥याउने उहाँको विश्वास छ । उहाँकाअनुसार मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका ७ सय भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा विक्रीका लागि राखिनेछन् ।
२१. निर्माण व्यवसायी महासंघको १३ अधिवेशनः आङ दोर्जी लामाको प्यानल घोषणा
निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (ए.डी.) लामा समूहको प्यानल घोषणा गरिएको छ । मंगलवारदेखि चल्ने साधारण सभा र अधिवेशनमा प्रतिष्पर्धा गर्न लागि सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच लामा समूहले उम्मेदवार घोषणा गरेको हो । लामाको समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोशिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले चुनाव लड्नेछन् । प्यानल घोषणा कार्यक्रममा बोल्दै लामाले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न लागेको भन्दै सरकारको स्पिरिटअनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सार्वजनिक खरिद ऐन संशोधनका लागि व्यवसायीहरूले विगत तीन वर्षदेखि संसदको ध्यानाकर्षण गराउँदै आएको भएपनि राजनीतिक अस्थिरताको कारण त्यो काम सम्भव नभएको बताउनु भयो ।
२२. महिला र उत्पीडितको समुदायको अधिकार हामीहरुकै त्याग र बलिदानको कारण स्थापित भएको होः अध्यक्ष दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याएपनि आफूहरुको मुद्दाले जितेको बताउनुभएको हो । जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उहाँको दाबी छ । उहाँले बालेन्द्र साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताउनु भयो । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरुमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताउनु भयो ।
२३. एमालेद्वारा अध्यक्ष ओलीको पक्राउ विरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणा
नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको हो । वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँले सो विरोध प्रदर्शनमा सहभागी हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिनुभयो । महासचिव पोखरेलकाअनुसार एमालेले सो विरोध प्रदर्शनबारे यही चैत्र २४ गतेसम्म जिल्लास्तरीय वृहत कार्यकर्ता भेला समेत आयोजना गर्ने भएको छ ।
२४. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह
प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग सामूहिक भेट गरी उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताउनुभएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री साहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताउनु भएको थियो । आफूहरुले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन,खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताउनु भयो ।
२५. खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको चासो सकारात्मक रहेको बताउनुभएको छ । महासंघको २६ औं साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै महासंघले सरकारले सार्वजनिक खरिद ऐन तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कानून सुधारका लागि थालेको पहललाई सकारात्मक रूपमा लिएको बताउनु भयो । उहाँले जनताले दिएको जनादेशअनुसार प्रधानमन्त्री साह सहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वले शुरुवाती दिनदेखि नै मुलुकलाई सही दिशामा अघि बढाउने प्रयास थालेको छनक देखिएको बताउनु भयो ।
२६. सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लामो समयदेखि समस्याका रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु स्वागयोग्य भएको बताउनुभएको छ । निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सार्वजनिक खरिद ऐन लामो समयदेखि अव्यवहारिक रहेको र निजी क्षेत्रले पटक–पटक यसको विरोध गर्दै आएको र अहिले दुई तिहाइको जनादेश प्राप्त सरकारबाट संशोधनका लागि कार्यदल बन्नु सकारात्मक भएको बताउनुभएको हो । ढकालले ऐन संशोधन हुँदा निर्माण क्षेत्रसँग सम्बन्धित धेरै समस्याहरू समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अब गठित कार्यदललाई निर्माण क्षेत्रका वास्तविक समस्या प्रश्तुत गर्नुपर्नेमा जोड दिँदै ढकालले निर्माण व्यवसायीले आफ्नो क्षेत्रका समस्या स्पष्ट रूपमा राखे ती समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
२७. प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’ः तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ । निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो । संसद सचिवालयले यीनै एजेण्डामाथि छलफल गर्न बधुवार सर्वदलीय बैठक बोलाएको छ । संसदको अधिवेशन शुरु हुनुअघि बुधवार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताउनु भयो । अधिवेशन आह्वान भइसकेपछि सामान्यतः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन भएपनि हाल उक्त समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो । उहाँकाअनुसार सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij