२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन्। मंगलवार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुगेका मन्त्री पोखरेलले सो घोषणा गरेका हुन् ।
मन्त्री पोखरेलले अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याका छन्।
काठमाडौं महानगरपालिकामा रहँदा शुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री पोखरेलले खेलले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठूलो भुमिका खेल्ने बताएका छन्। आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न आग्रह गर्दै पोखरेलले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरेका छन् ।
मन्त्री पोखरेलले आगामी ५ वर्ष खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij