२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक छात्राले विद्यालयकै शौचालयमा बच्चा जन्माएकी छन्। घरदेखि विद्यालय टाढा भएकाले ती छात्रा विद्यालयले उपलब्ध गराएको कोठामा साथीहरूसँग बसेर पढ्दै आएकी थिइन्।
१८ वर्षीया छात्राले विद्यालयको शौचालयमा बच्चा जन्माउँदासम्म पनि शिक्षक, कर्मचारी, प्रशासन र उनीसँगै बस्ने साथीहरूले समेत कुनै सुइँको नपाउनु आश्चर्यको विषय बनेको छ । ती छात्राले सँगै पढ्ने एक छात्रसँगको सम्बन्धबाट बच्चा जन्मिएको बताएकी छन्। बच्चाका पिता भनिएका ती युवक अहिले विद्यालय आएका छैनन्, तर उनको परिवारले जिम्मेवारी स्वीकार गरेको बुझिएको छ।
तिनाउ गाउँपालिका-५, कोलडाँडा घर भएकी ती छात्रा भदौ महिनादेखि सो विद्यालयमा प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना भएकी हुन्। विद्यालयका एक शिक्षकका अनुसार घर टाढा भएकाले विद्यालयकै खाली कोठामा उनलाई बस्ने व्यवस्था मिलाइएको थियो।
“उनी व्यवस्थित छात्रावासमै बसेकी त होइनन्, कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई मात्र छात्रावासमा राखिन्छ। कोठा खाली भएकाले उनीसहित तीनजना छात्रालाई त्यहाँ बस्ने व्यवस्था मात्र मिलाइएको थियो,” ती शिक्षकले भने।
उनले थपे, “भदौदेखि उनी यहाँ पढ्न थालेकी हुन्, तर दुई दिनअघि यस्तो पत्याउनै नसक्ने घटना भयो। कसैले शंकासम्म गर्न सकेनन्। सँगै बस्ने साथीले समेत शौचालयमा बच्चा जन्मिएपछि मात्र थाहा पाएकी रहिछिन्।” केही समयअघि शरीर मोटो देखिएपछि एक शिक्षकले सोध्दा उनले “म डाइटिङ गरेर शरीर घटाउँछु” भन्दै ढाँटेकी थिइन्।
घटना सार्वजनिक भएपछि सम्बन्धित छात्र विद्यालय आएका छैनन्। विद्यालयले छात्रको परिवारलाई बोलाएर सुत्केरी छात्रालाई उनीहरूको जिम्मा लगाएको छ। “हामीले विद्यार्थीलाई अविश्वास गर्ने कुरा भएन, उनी अनुशासित नै देखिन्थिन्। बच्चा जन्मिने बेलासम्म उनले निकै पीडा सहेकी होलिन्, तर कसैलाई केही भनिनन्,” ती शिक्षकले दुखेसो पोखे।
उनका अनुसार तीन दिनअघि ती छात्राले पेट दुखेको भन्दै कार्यालयमा पुगेर सिटामोल मागेर खाएकी थिइन्। विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले छात्रालाई अभिभावकको जिम्मा लगाइएको पुष्टि गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष चित्रबहादुर थापाले पनि घटनाको पुष्टि गरेका छन्।
उनले भने, “उनको शरीर मोटो भएकाले कसैले पनि गर्भवती भएको भेउ पाएनन्। छात्रको परिवारले घटना स्वीकार गरिसकेका छन् र सुत्केरीलाई घर लगिसकेका छन्। उनीहरूबीचको सम्बन्धबारे परिवारलाई पहिले नै जानकारी भए पनि गर्भवती भएको विषय भने लुकाइएको रहेछ।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij