२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । मुग्लिन–नागढुंगा सडक खण्ड तीन दिन ६ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्यका लागि आगामी चैत १७ गतेदेखि तीन दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सडक निर्माण कार्यलाई तीव्रता दिन र सडक खण्डमा पटक–पटक हुने सवारी अवरोधलाई व्यवस्थित गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको जनाएको छ ।
प्रशासनका अनुसार चैत १७ गतेदेखि चैत १९ गतेसम्म ३ दिन प्रत्येक रात १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ । यो समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।
मुग्लिन–नागढुंगा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत सडक स्तरोन्नति गर्ने क्रममा भिरकाटानी तथा अन्य प्राविधिक काम गर्नुपर्ने भएकाले यात्रुको सुरक्षा र कामको सहजताका लागि यस्तो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij