२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । प्रहरीले एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न भक्तपुर गुण्डुस्थित उनको घर वरपर रेकी गरेको, तर उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा व्यापक छ ।
गृहमन्त्री सुधन गुरुङले एमाले आन्दोलन मत्थर पार्न बस्नेतलाई पक्राउ गर्न चाहेका छन् । तर, कुन कसुरमा र के आधारमा पक्राउ गर्ने भन्ने अन्यौलतामा प्रहरी छ । यही बेला उनको मोबाइलको स्वीच अफ भएपछि शंका बढेको हो ।
प्रहरीले पक्राउ गर्न चाहेमा मोबाइल अन र अफको अर्थ हुँदैन, मानिस पहिचानका विभिन्न विधि छन् । तर, यो पङ्क्ति लेख्दासम्म उनी पक्राउ परेको खबर छैन ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनलाई पक्राउ गर्नुपर्ने एउटा जाहेरी उच्च अदालतमा विचाराधीन रहेको र नयाँ कारण हालसम्म नआएको बताए । यसबाहेक केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बस्नेत पक्राउबारे अनभिज्ञता प्रकट गरे । हालसम्म जिल्ला प्रहरी, भक्तपुरको कुनै पनि टोली बस्नेतको खोजीमा नरहेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए ।
बस्नेत आइतबार दिनभर प्रदर्शनका क्रममा नयाँ बानेश्वर, माइतीघर क्षेत्रमा थिए । प्रदर्शनपछि घाइतेलाई भेट्न नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा पुगे । त्यहाँबाट च्यासल जाने भनेर निस्किएका थिए । च्यासल पुग्दासम्म उनको मोबाइल अन थियो । त्यसपछि स्वीच अफ छ ।उनी च्यासलस्थित पार्टी कार्यालयबाट तत्कालै निस्किएको बुझिएको छ ।
एमालेले गठन गरेको भोलेन्टेयर्स फोर्सका सदस्य अहिले बस्नेतको अघिपछि हुने गरेका छन् । उनीहरू बस्नेतको गुण्डुस्थित घर, पार्टी कार्यालय र प्रदर्शनस्थलमा बस्नेतकै साथमा रहने गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij