२०८२ चैत्र १४ गते शनिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परेको २४ घण्टाभित्र आइतबार (चैत १५) काठमाडौं जिल्ला अदालतमा हाजिर गराइने छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकबाट ‘लापरबाहीले ज्यान मार्ने’ घटना भएको ठहर गरे पनि संगठित अपराध पनि जोडिन सक्ने फौजदारी कानुनका जानकारको भनाइ छ ।
‘‘जरुरी पक्राउ पुर्जी पहिल्यै लिइसकेको छ, भोलि अदालत लगेर थुना म्याद थप गर्ने कार्य हुन्छ । कर्तव्य ज्यान र संगठित अपराध दुवै मुद्दा चल्ने सम्भावना रहन्छ,’’ फौजदारी कानुनका विज्ञ प्रा.डा. रजितभक्त प्रधानाङ्गले भने, ‘‘ज्यादती पनि जोडिएको हुँदा त्यस्को कारणबाट सिर्जना भएका घटनामा थुप्रै अपराधहरुमा मुद्दा चल्न सक्छ ।’’
उनका अनुसार संगठित अपराधमा मुद्दा चलाउने अवस्थामा थप ९० दिन थुनामा रहनुपर्ने हुन सक्छ । फौजदारी संहिता, २०७४ को दफा ४२ र ४४ अनुसार संगठित अपराध जोडेर मुद्दा चलाइए परिस्थिति अर्कै हुने प्रधानाङ्गको भनाइ छ ।
‘‘यो अनुसार ९० दिन थुना र भिन्नै सजाय हुन सक्छ । अरु थप अपराध भएकोमा पनि सरकारी वकिलबाट भिन्नै ‘केस’ जान सक्छ,’’ उनले भने, ‘‘दफा ४२ र ४४ लगाएर मुद्दा गयो भने थप अप्ठ्यारो पर्न सक्छ ।’’ प्रधानाङ्गका अनुसार अहिले आयोगले हेलचक्र्याईपूर्वक भने पनि ‘सम्पत्ति शुद्धीकरण’ समेत जोडिन सक्ने छ ।
उनले अहिलेसम्म कुनै आयोगको प्रतिवेदन कार्यान्वयन नभएको अवस्थामा यसपल्ट पहिलोपल्ट लागू गर्दा अवस्था यही हुन्छ भनेर अनुमान गर्न नसकिने पनि बताए । नायब महान्यायाधिवक्ता संजिवराज रेग्मीले पनि सुरुमा अदालतमा लगेर थुना म्याद थप गर्ने प्रक्रिया हुने बताए ।
‘‘त्यसपछि पक्राउ पुर्जी समर्थन हुन्छ । त्यसपछि के–के अनुसन्धान गर्ने हो त्यतातिर कानुनी कोर्ष अघि बढ्छ,’’ रेग्मीले भने, ‘‘थुनाको कुरामा ज्यान मारेको कसुरमा अदालतको अनुमतिले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । यसमा बढीमा २५ दिन हुन्छ । पछि अनुसन्धानबाट के देखिन्छ, त्यस्मा पनि भर पर्छ ।”
कानुनविद्का अनुसार भविष्यमा यसबाहेक सम्पत्ति नास गरेको, घाइतेको ज्यानमार्ने उद्योग, ज्यान गइसकेकोमा ‘ज्यान’ मुद्दा पनि चल्नसक्छ ।
‘‘नितपूर्वक मारेकोमा कर्तव्य ज्यान नै हो । मान्छे मर्न सक्छ भन्ने जान्दाजान्दै गोली हानेर घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र लापरबाही हुन्छ । मनसाय नराखेको भए हेलचक्र्याईं पनि हुनसक्छ,’’ रेग्मीले भने, ‘‘अब सरकारी वकिल र प्रहरीको समन्वय र सल्लाहमा छानबिन र अनुसन्धान अघि बढ्छ ।’’
जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरबाही गरेको ठहर गरेको थियो । त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो ।
उक्त प्रतिवेदनका अनुसार पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरेको थियो ।
रेग्मीका अनुसार मुलुकी अपराध संहिताको २८१, २८२ र २८३ दफा अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । यस्तोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij