२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्री वा विशिष्ट व्यक्तिहरूको सवारीका बेला सडक ठप्प पार्ने र नागरिकलाई घण्टौँसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
उनले भीआईपी सवारीका कारण नागरिकले दुःख पाउनु नहुने भन्दै यस विषयमा आवश्यक कार्यविधि परिमार्जन गर्न र निर्देशन जारी गर्न गृह सचिवलाई आग्रह गरेका छन् । गृहमन्त्री गुरुङले सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारको मुख्य कारण झन्झटिलो सेवा प्रवाह रहेको औँल्याका छन् ।
नागरिकले एउटै कामका लागि एक नम्बर कोठादेखि १० नम्बर कोठासम्म धाउनुपर्ने र कर्मचारीहरूसँग बारम्बार ठोक्किनुपर्ने बाध्यताले नै भ्रष्टाचारलाई प्रश्रय दिएको उनको ठहर छ । भ्रष्टाचार निर्मूल पार्न ‘वान डोर सर्भिस सिस्टम’ ९एकद्वार सेवा प्रणाली० अनिवार्य रहेको उल्लेख गर्दै उनले सेवाग्राही र कर्मचारीको प्रत्यक्ष भेटघाट कम हुनेगरी प्रविधिको विकास गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री सुधन गुरुङले देश परिवर्तनका लागि रगत बगाउने शहीद परिवार र घाइतेहरूलाई राज्यले दिने सेवामा कुनैपनि ढिलासुस्ती हुन नहुने बताएका छन् । गृहमन्त्री सुधन गुरुङले सञ्चारमाध्यमहरूलाई देश विकासको साझेदार बन्न र समाचार सम्प्रेषणमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij