Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

आज दिनभरको ३३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 295
    Shares

    • images
    आज दिनभरको ३३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सेतो मत्स्येन्द्रनाथको ऐतिहासिक रथयात्रा आजदेखि शुरु

    वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथको ऐतिहासिक रथयात्रा (आज) शुरु भएको छ । जात्राको पहिलो दिन रथलाई जमलबाट तानेर असन लगिएको छ । भक्तजनहरूको उत्साहपूर्ण सहभागितामा ठूलो भीडका बीच रथलाई रत्नपार्क र भोटाहिटी हुँदै असन पु¥याइएको हो । सेतो मत्स्येन्द्रनाथको रथ निर्माण तीनधारा पाठशालाको अगाडि गरिएको थियो । आज बिहान जनबहालबाट खटमा राखेर मूर्तिलाई तीनधारासम्म लगिएपछि रथमा विराजमान गराई यात्रा सुरु गरिएको थियो । रथ तान्ने क्रममा स्थानीयवासी, नेवार समुदायका युवायुवती र भक्तजनहरू सक्रिय रूपमा सहभागी भएका थिए । यो रथयात्रा काठमाडौंको प्राचीन सांस्कृतिक सम्पदा हो । हिन्दु र बौद्ध दुवै सम्प्रदायले पूजा गर्ने सेतो मत्स्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । दर्शन गर्दा सुख, स्वास्थ्य, दीर्घायु र आर्थिक समृद्धि हुने जनविश्वास छ । 

    २. सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

    नेपाल सरकारले गठन गरेको जाँचबुझ आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको ‘जेन–जेड आन्दोलन’ को पूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ । ९ सय ७ पृष्ठ लामो यो दस्तावेजले प्रदर्शनका क्रममा भएको गोली प्रहार, मृत्यु, घाइते, देशव्यापी तोडफोड, आगजनी र लुटपाटको अत्यन्त विस्तृत छानबिन गरेको छ । आयोगले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३(२) बमोजिम प्राप्त अधिकार प्रयोग गरी सिसिटिभी फुटेज, शव परीक्षण रिपोर्ट, ब्यालेस्टिक परीक्षण, बिटिएस डाटा, सिडिआर विवरण, प्रत्यक्षदर्शी बयान, पीडित तथा मृतक परिवारसँगको अन्तर्वार्ता, सुरक्षा निकायका अधिकारीहरूको लिखित बयान, चिकित्सकहरूको विवरण, जिल्ला सुरक्षा समितिबाट प्राप्त रिपोर्ट र हजारौं प्रमाणका आधारमा घटनाको गहिरो विश्लेषण गरेको छ ।

    ३. राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन

    रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेबाट प्रश्तावित यी दुवै एजेण्डाहरू केन्द्रिय समितिबाट पारित भएका प्रवक्ता मनिष झाले बताउनु भयो । केन्द्रिय समितिको बैठकपछि बसेको केन्द्रिय समिति तथा संसदीय दलको संयुक्त बैठकले ती निर्णयहरूलाई औपचारिकता दिएको हो । रास्वपाले आगामी सरकार गठनको प्रक्रियामा पनि आफ्नो स्पष्ट अडान सार्वजनिक गरेको छ । 

    ४. मूल्याङ्कन अनुहार हेरेर होइन, काम हेरेर हुन्छः ओली

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पद वा जिम्मेवारीको मूल्याङ्कन भूगोल, लिङ्ग, भाषा वा क्षेत्रको आधारमा नभई केवल निष्ठा, सक्रियता, काम र अनुशासनको आधारमा हुने स्पष्ट बताउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अनुशासन र कार्यसम्पादनको महत्वबारे स्पष्ट पार्नुभएको हो । उहाँले सांसदहरूलाई पार्टीको नीति र दृष्टिकोणअनुसार चल्न निर्देशन दिनुभयो । आफ्नै डम्फु नबजाउन र व्यक्तिगत विचारभन्दा पार्टीको आधिकारिक धारणालाई प्राथमिकता दिन उहाँको आग्रह छ । एमालेलाई नेपालकै सबैभन्दा एडभान्स, सङ्गठित र परिवर्तनकारी विचार बोक्ने पार्टी दाबी गर्दै उहाँले अरूका गलत र अराजक प्रवृत्तिहरूबाट नसिक्न चेतावनी दिनुभयो । 

    ५. निर्वाचन परिणाम ‘जादुमय र अनपेक्षित’ः घृणाको राजनीतिको डटेर सामना गर्न ओलीको निर्देशन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वाभाविक, अनपत्यारिलो र जादुमय’ भएको बताउनुभएको छ । नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुसँगको भेटघाट कार्यक्रममा उहाँले यसतो बताउनुभएको हो । उहाँले निर्वाचन प्रक्रिया र नतिजाका बारेमा विश्लेषण गर्दै विरोधीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई रुचाउन नसकेको बताउनु भयो । ओलीकाअनुसार देशमा शान्ति, सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना हुन नचाहने तत्वहरूले ‘घृणाको राजनीति’ को खेती गरेका छन् । उहाँले राजनीतिलाई घृणाद्वारा निर्धारित गर्ने प्रयास भएको र यसमा विभिन्न पक्षबाट विरोधीहरूलाई सहयोग प्राप्त भएको बताउनु भयो । उहाँले पार्टी पंक्तिलाई डटेर यस्ता प्रवृत्तिको सामना गर्न र जनतामा सत्य कुरा पु¥याउन निर्देशन दिनुभएको छ । विशेष गरी सामाजिक सञ्जालमा हुने हमलाको प्रतिवाद गर्न एमाले कार्यकर्ताहरूमा ‘अरूले गरिदिए हुन्थ्यो’ भन्ने खालको निष्क्रियता देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भ्रम र गलत कुराको खण्डन गर्न आफैँ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    ६. नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

    नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको छ । पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभएको हो । संसदमा काँग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्नुभयो । आम निर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उहाँको ठम्याइ छ । 

    ७. जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’

    अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मान्नुभएको छ । जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उहाँले बताउनु भयो । उहाँले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको बताउनु भयो । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको जानकारी उहाँले दिनुभयो ।

    ८. चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

    आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ । चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, वागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ । वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ । असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।

    ९.गृहमन्त्री अर्यालका १ सय ९१ दिने कार्यकालः निर्वाचन सम्पन्न र कानूनी सुधार मुख्य उपलब्धि

    अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १ सय ९१ दिने कार्यकाल पूरा गरी पदबाट बिदा हुनुभएको छ । बिहीवार गृह मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उहाँले जेन–जी जनआन्दोलन पछिको सङ्कटपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराई संविधानलाई सही बाटोमा ल्याउन सफल भएको दाबी गर्नुभयो । २०८२ भदौ ३० मा कार्यभार सम्हाल्नुभएका अर्यालले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निष्पक्ष निर्वाचनलाई मुख्य कार्यभार बनाएको बताउनु भयो । उहाँले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । कार्यकालका दौरान जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, ७२९ जना घाइतेलाई राहत वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक भत्ताको व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

    १०. कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’ः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिनुभएको छ । उहाँले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानूनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताउनुभएको हो । ओलीले कानूनी तर्क प्रश्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमाले विरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गर्नुभयो । 

    ११ं. एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक रूपमा विचलित नभएको दाबी गर्नुभएको छ । पार्टीका सांसदहरुसँगको छलफलका क्रममा बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको ५५ वर्ष लामो इतिहासको स्मरण गर्दै उहाँले पार्टीलाई ‘सच्चिनुपर्छ’ भनी बाहिरबाट आउने दबाबको खण्डन गर्दै सच्चिनुको अर्थ अराजकता फैलाउनु नभएको बताउनु भयो । हालैका निर्वाचनहरूमा पार्टीले ‘अभूतपूर्व धक्का’ खाएको स्वीकार गर्दै उहाँले यो धक्का पार्टीको नीति वा विचारका कारण नभई सांगठनिक कमजोरी र घेराबन्दीका कारण भएको बताउनु भयो । पार्टी स्थापनाको कठिन दिनहरू सम्झँदै ओलीले भन्नुभयो, ‘हामी असहज स्थितिमा छौँ तर असहजतासँग जुधेर लडेर यो पार्टी राणा शाहीको समयमा राणा शाहीको समयमा चार जना मान्छेले खोलेको पार्टी हो । 

    १२. इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ । यद्यपि तेहरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताउनु भयो । उहाँले तेहरान सम्झौता गर्न इच्छुक रहेको समेत बताउनु भयो । इरानसँग कुटनीतिक पहल गर्नुको कारणबारे सोधिएको प्रश्नमा उहाँले उनीहरू अमेरिकासँग संवाद गरिरहेका र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताउनु भयो । ट्रम्पले इरानले वासिङ्टनलाई ठूलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको समेत दाबी गर्नुभयो । तर उहाँले त्यो उपहार ठ्याक्कै के हो भन्नेबारे खुलाउन चाहनुभएन । 

    १३. कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

    कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा ड्रोन आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ । नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार ड्रोनले विमानस्थलको इन्धन ट्याङ्कीलाई निशाना बनाएको थियो । यसबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने भएको छैन । कुवेती सेनाले आफ्नो एयर डिफेन्स सिस्टमले आकाशमै धेरै मिसाइल र ड्रोनहरू नष्ट गरेको बताएको छ । शहरका विभिन्न भागमा सुनिएका ठूला विस्फोटका आवाजहरू यही प्रतिरोधात्मक कारबाहीका कारण भएको सेनाले स्पष्ट पारेको छ । 

    १४. डेनमार्कको चुनावमा सोसल डेमोक्र्याट्सको अग्रता

    डेनमार्कको सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी संसदीय निर्वाचनपछि सबैभन्दा ठूलो दलको रूपमा रहने स्पष्ट भएको छ । मेट्रोपोलिटन डेनमार्कमा भएको मतदानको गणनाका आधारमा यो नतिजा सार्वजनिक गरिएको हो । ग्रीनल्याण्ड र फारो टापुहरूमा भने अझै मतगणना जारी छ । १ हजार ३ सय १४ मध्ये १ हजार ३ सय ६ मतदान क्षेत्रको नतिजाअनुसार सोसल डेमोक्र्याट्सले २१.९ प्रतिशत मत प्राप्त गरेका छन् । यो २०२२ को निर्वाचनमा प्राप्त २७.६ प्रतिशतको तुलनामा कम हो । प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले फेब्रुअरी २६ मा निर्वाचनको घोषणा गर्नुभएको थियो । डेनमार्कको १ सय ८९ सदस्यीय संसदका लागि यो निर्वाचन भएको हो । जसमा ग्रीनल्याण्ड र फारो टापुबाट २–२ प्रतिनिधिहरू समावेश हुन्छन् । डेनमार्कको बहुदलीय संसदीय प्रणाली अन्तर्गत अब नयाँ सरकार गठनका लागि विभिन्न दलहरूबीच वार्ता हुने अपेक्षा गरिएको छ । सोसल डेमोक्र्याट्सले सबैभन्दा धेरै मत जिते पनि स्पष्ट बहुमत भने प्राप्त गर्न सकेको छैन ।

    १५. प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

    संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले इजरायलको ‘राज्य सिद्धान्त’ बनेको उहाँको भनाइ छ । सन् १९६७ देखि ओगटिएको प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारको अवस्थाबारे संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले संयुक्त राष्ट्र मानव अधिकार परिषदमा पेश गरिएको प्रतिवेदनमा लामो समयदेखिको ‘दण्डहीनता र राजनीतिक संरक्षण’ अन्तर्गत प्यालेस्टिनीहरूको इजरायलको व्यवस्थित यातना ‘ओगटिएको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको नरसंहारको एक परिभाषित उपकरण’ बनेको बताइएको छ । इजरायलले ‘उच्च राजनीतिक स्तरमा स्वीकृत संगठित अपमान, पीडा र पतनको शासन’ सञ्चालन गर्दछ । प्यालेस्टिनीहरूलाई प्रभुत्व जमाउन, अपमान गर्न र तोड्न लामो समयदेखि प्रयोग गरिएको प्रणाली विकसित र राज्य सिद्धान्तमा कडा भएको उहाँको भनाइ छ । 

    १६. मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

    यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको प्रधानमन्त्री शहबाज सरिफले बताउनुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री सरिफले सो कुरा बताउनुभएको हो । उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेका संवादका प्रयासहरूलाई पाकिस्तानले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभयो । यसैबीच, इरानी समाचार एजेन्सी ‘तस्निम’ काअनुसार सोमवार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रधानमन्त्री सरिफसँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रीय सहयोगप्रति तेहरानको प्रतिवद्धता पुनः दोहो¥याउनुभएको छ ।

    १७. सुडानका लागि संयुक्त राष्ट्रसंघीय दुतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान

    सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका व्यक्तिगत दुत पेक्का हाभिस्टोले सुडानका द्वन्द्वरत पक्षहरूलाई वार्ता र तनाव कम गर्ने प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । उहाँले यो कदमलाई व्यापक युद्धविराम प्राप्त गर्नका लागि अनिवार्य खुड्किलोको रूपमा वर्णन गर्नुभएको छ । संयुक्त राष्ट्रसंघ सुडानमा जारी लडाइँ अन्त्य गर्न र एक समावेशी एवं वास्तविक संवादमार्फत स्थायी शान्तिको बाटो तय गर्न सबै सरोकारवालाहरूसँग पूर्ण रूपमा संलग्न रहेको बताउनु भयो । यो द्वन्द्वले सुडानलाई ठूलो मानवीय संकटमा धकेलेको छ । 

    १८. काठमाडौं महानगर र मालपोत कार्यालयहरुबीच भू–सेवा केन्द्र सञ्चालनका लागि सम्झौता

    काठमाडौं महानगरपालिका र महानगरभित्र कार्यक्षेत्र रहेका मालपोत कार्यालयहरुबीच भू–सेवा केन्द्र सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । काठमाडौं महानगरमा बिहीवार आयोजित एक कार्यक्रममा काठमाडौं महानगर, भूमीसुधार तथा मालपोत कार्यलय डिल्लीबजार, मालपोत कार्यलय चावाहिल र मालपोत कार्यलय कलंकीबीच सम्झौता भएको हो । भू–प्रशासन निर्देशनिका, २०८१ अनुसार सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सम्झौता गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा तहवाट नै भू–सेवा सञ्चालन गर्नको लागि मालपोत कार्यलयहरुसँग सम्झौता गरेको जानकारी दिनुभयो । उहाँले भू–सेवा सञ्चालन गर्न महानगरले आवश्यक कर्मचारी पनि व्यवस्थापन गरेको बताउनु भयो । उहाँकाअनुसार शुरुमा १० वटा वडाबाट भू–सेवा सञ्चालन गरिनेछ भने विस्तारै अन्य वडामा पनि सेवा विस्तार हुनेछ । 

    १९. कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानून मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिनुभएको छ । बिहीवार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उहाँले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाईलहरु अड्केर बस्ने गरेको गुनासो आएको बताउनुभएको हो । उहाँले कानूनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी समयमै नआउने र आपसी समन्वय अभावका कारण काममा ढिलाइ हुने गरेको पाईएको बताउनु भयो । उहाँले समस्या समाधानका लागि कर्मचारीहरू आफैँ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । 

    २०. देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छः ज्येष्ठ सदस्य केसी

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताउनुभएको छ । बिहीवार सिंहदरवारमा संसदहरुको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभएको हो । संसद सञ्चालनको लागि उच्च राजनीतिक संस्कृतिको आवश्यकता हुने उहाँले बताउनु भयो । संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । सभामुखको मुख्य दायित्व सांसदहरूको विशेषाधिकारको रक्षा गर्नु, संसदको गरिमा कायम राख्नु तथा त्यहाँ हुने वादविवाद, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा संयोजन गर्नु भएको उहाँले बताउनु भयो ।

    २१. पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनः मन्त्री सिन्हा

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याउन नसकेको बताउनुभएको छ । बिहीवार कानून मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्वीकार गर्नुभएको हो । पर्यटन मन्त्रालय आफूले समाल्दै गर्दा अत्यन्त अव्यवस्थित अवस्थामा पाएको उहाँले बताउनु भयो । उहाँले ठूला पूर्वाधार निर्माण भएपनि तिनलाई सञ्चालन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजनाको अभाव रहेको बताउनु भयो । उहाँले आफू मन्त्री भएपछि पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि कार्ययोजना र सुझाव तयार पारिएको बताउनु भयो । कार्ययोजना बनाएपनि निर्वाचनको कारण ठोस रूपमा कार्यान्वयनमा ल्याउन नसकेको उल्लेख गर्नुभयो । उहाँले युरोपियन युनियनको कालोसूचिमा रहेको नेपालको हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउन आवश्यक सुधारको काम थालिएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार नागरिक उड्डयन प्राधिकरण सुधारको मार्गमा अघि बढ्न थालेको छ ।

    २२. प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः अध्यक्ष राई

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पार्टीले अब बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा शपथग्रहणपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले नयाँ बन्ने सरकारलाई प्रश्न गरेर सहयोग गर्ने बताउनुभएको हो । उहाँले आलोचनाले पनि सरकारलाई सहयोग हुने बताउनु भयो । स्वच्छ आलोचनाले सरकारलाई सही ट्रयाकमा ल्याउने भएकोले आफूहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले रास्वपाले जनताको हितमा हुनेगरी संविधान संशोधनको एजेण्डा ल्याएमा दुईतिहाई पु¥याउन सहयोग गर्ने पनि बताउनु भयो । 

    २३. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । महिला तथा मानव अधिकारकर्मीहरुले बिहीवार माईतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । मन्त्रालयको संख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा गाभ्ने तयारी गरेपछि महिला अधिकारकर्मीहरुले विरोध जनाएका हुन् । रास्वपाले यी दुई मन्त्रालय गाभेर स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय बनाउने तयारी गरेको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निर्णय भइसकेपछि निर्णय बदल्न गाह्रो हुने भएकोले निर्णय अगाबै खबरदारी गरेको बताउनु भयो । 

    २४. अख्तियार र अदालतमा रहेका भ्रष्टाचारका मुद्दाहरुलाई जनमत प्रभावित गर्ने तथा दलगत बहसको विषय बनाइनुहुन्नः काँग्रेस

    नेपाली काँग्रेसले भ्रष्टाचारसँग जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिकामा रहेका सबै मुद्दा निष्पक्ष रूपमा टुंग्याउनुपर्ने बताएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले न्यायपालिका तथा अख्तियारमा रहेका सबै भ्रष्टाचारका मुद्दा तत्काल टुंग्याउनेगरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले अख्तियार तथा अदालतमा रहेका भ्रष्टाचार तथा अनियमितताको मुद्दाहरुलाई जनमत प्रभावित गर्ने वा दलगत राजनीतिक बहसको विषय बनाउन नहुने बताउनु भयो । उहाँले २०४६ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पती छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले सम्पती छानविनका विशेष समिति गठन गर्न र आवश्यक कानुन बनाउन समेत रास्वपालाई आग्रह गर्नुभयो । 

    २५. काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी

    काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच कानूनको तर्जुमा, परिमार्जन र कार्यान्वयनमा सहकार्य गर्ने गरी समझदारी (एमओयु) भएको छ । काठमाडौं महानगरले कार्यान्वयन गरिरहेका कानूनहरुको परिमार्जन तथा कानून तर्जुमा गर्नुपर्ने क्षेत्रहरुको अध्ययन तथा सुझावका लागि दुई पक्षबीच एमओयु भएको हो । एमओयु कार्यक्रममा बोल्दै महानगरकी कार्यावाहक प्रमुख सुनिता डंगालले स्थानीय सरकारका कामकारबाहीलाई थप व्यवस्थित र कानूनसम्मत बनाउन यो सहकार्य गरिएको जानकारी दिनुभयो । उहाँले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रही निर्माण गरिएका कानूनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानूनमा रहेका त्रुटिहरू सच्याउन यस सम्झौता महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार काठमाडौं महानगरले हालसम्म १ सय ६० वटा कानून निर्माण गरी कार्यान्वयन भइरहेका छन् । 

    २६. जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस

    नेपाली काँग्रेसले जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रश्तुत गर्न नसकेको बताउनु भयो । प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको बताउनु भयो । चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेन–जी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिनुभयो । 

    २७. डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । 
    पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भएपनि संस्थागत अभ्यासको दृष्टिले पछाडि रहेको उल्लेख गर्दै राज्य सञ्चालनमा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले देशको पहिचान र अस्तित्व पुरानो भएपनि संस्थागत अभ्यास कमजोर रहेको औंल्याउँदै प्रभावकारी शासनका लागि आधुनिक प्रणाली र नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भयो ।

    २८. देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौंः एमाले सांसद नेम्वाङ

    नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन गर्ने बताउनुभएको छ । बिहीवार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनता र मुलुकको हितमा हुने सबै प्रकारका निर्णयमा सरकारलाई सहयोग गर्ने तथा कमिकमजोरी भए चनात्मक सुझाव दिने बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘देश र जनताको हितमा काम गर्नुपर्छ । अवश्य पनि मलाई विश्वास छ उहाँहरुले गर्नुहुन्छ । उहाँहरुले देश र जनताको हितमा काम गरेको बखत हामी साथ दिन्छौँ । कमिकमजोरी रहेछ भने हामीले रचनात्मक हिसावले सम्झाउने तथा सल्लाह दिने काम गर्छौँ ।’

    २९ं नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो । ४७  जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।

    ३०. बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे

    नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ । पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताउनु भयो । 

    ३१. सांसद श्रेष्ठ भन्छिन्–यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता र सामाजिक न्याय दिलाउन काम गर्छु

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भुमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समूदायको हक र अधिकारको लागि आवश्यक कानून निर्माण गर्न पहल गर्ने बताउनुभएको छ । बिहीवार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता, सामाजिक न्याय र राज्यका निकायमा अवसरको विषयमा आफू सक्रियता साथ काम गर्ने उहाँको भनाइ छ । उहाँले यौनिक अल्पसंख्यकसँगै समग्र जनताको हितमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
    उहाँले भन्नुभयो, ‘हाम्रो समुदायको अधिकारको रक्षा तथा नागरिकता, स्वास्थ्य, शिक्षा, वैवाहिक समानता र सामाजिक न्यायको कुराहरुको सन्दर्भमा ऐन तथा कानूनमा कसरी समावेश गर्न सकिन्छ भन्ने कुरा मेरो प्राथमिकतामा हुन्छ । र अब मेले मेरो आफ्नो समुदायको सँगै जनताको आवाज पनि बोल्नुपर्छ भन्ने बुझेको छु ।’

    ३२. अतिकम विकसित मुलुकबाट नेपाल स्तरोन्नतिः १६ औँ योजनापत्रको कार्ययोजनामा समावेश

    नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गर्दैछ । आत्मनिर्भर, स्वतन्त्र, उन्नतिशील र समृद्ध अर्थतन्त्र निर्माणको दिशामा यो स्तरोन्नति महत्वपूर्ण कोशेढुङ्गा मानिएको छ । स्तरोन्नतिसँगै नेपालको अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय स्वाभिमानमा वृद्धि हुनुका साथै आर्थिक तथा विकासका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ । तर हाल अतिकम विकसित मुलुकका रूपमा प्राप्त हुँदै आएका केही विशेष अन्तर्राष्ट्रिय सहुलियत र सहयोग क्रमशः घट्दै जाने चुनौती पनि रहनेछ ।
    यही परिवेशलाई मध्यनजर गर्दै सरकारले स्तरोन्नतिबाट उत्पन्न हुने अवसरहरूको अधिकतम उपयोग र सम्भावित असरहरूको न्युनिकरण गर्ने उद्देश्यसहित कार्यान्वयन कार्ययोजना राष्ट्रिय योजना आयोगले तयार गरेको छ । हालै मन्त्रिपरिषदबाट स्वीकृत यस कार्ययोजनाले विभिन्न क्षेत्रगत नीति तथा कार्यक्रमबीच समन्वय गर्दै स्तरोन्नतिलाई सहज र दिगो बनाउने लक्ष्य राखेको छ ।
    कार्ययोजनाको मुख्य उद्देश्य व्यापार तथा लगानी विस्तारमार्फत आर्थिक रूपान्तरण गर्दै वित्तीय दिगोपना र समष्टिगत आर्थिक स्थायित्वसहित आर्थिक विकास हासिल गर्नु हो । साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार, सामाजिक समावेशीकरण तथा आर्थिक–पर्यावरणीय जोखिम व्यवस्थापनमार्फत उत्पादन क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

    ३३. ‘नयाँ सरकारलाई स्वागत गर्न आतुर छु’ः सुशीला कार्की

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै पदबाट बिदा लिने तयारी गर्नुभएको छ । फागुन २१ गते सम्पन्न ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनको परिणाम आएसँगै उनले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बाटो प्रशस्त गर्नुभएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ पछिको जटिल परिस्थितिमा आफूले जिम्मेवारी सम्हालेको स्मरण गर्नुभयो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - २१:१९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij