२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पद वा जिम्मेवारीको मूल्याङ्कन भूगोल, लिङ्ग, भाषा वा क्षेत्रको आधारमा नभई केवल निष्ठा, सक्रियता, काम र अनुशासनको आधारमा हुने स्पष्ट बताए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अनुशासन र कार्यसम्पादनको महत्वबारे स्पष्ट पारे। उनले सांसदहरूलाई पार्टीको नीति र दृष्टिकोणअनुसार चल्न निर्देशन दिए। आफ्नै डम्फु नबजाउन र व्यक्तिगत विचारभन्दा पार्टीको आधिकारिक धारणालाई प्राथमिकता दिन उनको आग्रह छ ।
एमालेलाई नेपालकै सबैभन्दा एडभान्स, सङ्गठित र परिवर्तनकारी विचार बोक्ने पार्टी दाबी गर्दै उनले अरूका गलत र अराजक प्रवृत्तिहरूबाट नसिक्न चेतावनी दिए।
उनले भने, ‘यो ठाउँको भएको हुनाले मेरो मूल्याङ्कन हुनुपर्छ भन्ने हुँदैन । यो जेण्डरको भएको हुनाले मेरो मूल्याङ्कन हुनुपर्छ भन्ने पनि हुँदैन । यो भाषा बोल्छु भाषिक हिसावले मेरो मूल्याङ्कन हुनुपर्छ भन्ने पनि हुँदैन । जम्माजम्मी निष्ठा, सक्रियता, काम, अनुशासन यिनै कुराहरूबाट मूल्याङ्कन हुन्छ । हाम्रो संसद पार्टीका नीति, दृष्टिकोण र निर्णय मुताबिक अनुशासित भएर चल्नुपर्दछ । हामी आफ्नो खुशीले चल्न, आफ्नो डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ । हामी आफू आफूले आफ्नो विचार अभिव्यक्त गर्न होइन, पार्टीका विचार, पार्टीले देशका विचार जे हुन् त्यसलाई पार्टीको विचारको रूपमा अगाडि सारेको छ । हामी भन्दा एडभान्स विचार बोक्ने कुनै पार्टी पनि छैन नेपालमा । हाम्रो पार्टी नै सबभन्दा एडभान्स विचार बोक्ने, सङ्गठित विचार बोक्ने, प्रगतिशील विचार बोक्ने, परिवर्तनकारी विचार बोक्ने र अनुशासित ढङ्गले चल्ने पार्टी हो ।’
उनले आगामी दिनमा सदनका पदाधिकारीहरूको चयन पनि कामको मूल्याङ्कन र आवश्यकताकै आधारमा हुने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij