२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् ।
पार्टी मुख्यालय च्यासलमा ओलीले आफ्नो पार्टी आकारमा सानो भएकोमा चिन्ता नगर्न सांसदहरुलाई सुझाव दिए । निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको ओलीले बताए । रास्वपातर्फ ईंगित गर्दै उनीहरुलाई धेरैतिरको सहयोग भएको टिप्पणीसमेत गरे ।
ओलीले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय छ । हाम्रा विरोधिहरुले अथवा हाम्रा उद्देश्यका विरोधिहरुले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं ।’ ओलीले महाभारतको कथामा कौरव र पाण्डवको प्रसंग सम्झिए ।
उनले भने, ‘महाभारतमा कौरवको सेना धेरै ठूलो थियो । पाण्डवको सानो थियो । तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ । राष्ट्रिय गौरवको झण्डालाई माथि उठाउने काममा हामी लागेका छौं ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij