२०८२ चैत्र १० गते मंगलवार
सुर्खेत । १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अझै टुङ्गिएको छैन । गत २३ फागुनमा मृत्यु भएकी इनिसाको शव १८ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।
इनिसाको शवले १८ दिनदेखि न्यायको पर्खिइरहेको छ । छोरीले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ । ‘छोरीको ज्यान गइसकेको छ, हामी उसको शव ल्याएर के गरौँ । हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौँ,’ इनिसाका बुवा इन्द्रबहादुर विक भन्छन्, ‘न्याय निरुपणमा ढिलाइ हुनु भनेको न्याय नपाए सरह हो । हामीलाई छिटो न्याय दिइयोस् ।’
इनिसालाई न्याय माग्दै देशैभर प्रदर्शन र दबाबका कार्यक्रम जारी छन् । घटना भएको एक १८ दिनसम्म पनि वास्तविक तथ्य सार्वजनिक नभएको भन्दै परिवारले असन्तुष्टि जनाइरहेको छ ।
इनिसा विक घटनाको छानबिनका लागि सुर्खेत आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली काठमाडौं फर्किएको छ ।
सीआईबीको टोली अनुसन्धान सकेर आइतबार नै फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी महोनजंग बुढथापाले जानकारी दिए । ‘सीआईबीको टोली अनुसन्धान सकेर काठमाडौँ फर्किएको छ,’ डीएसपी बुढथापाले भने, ‘अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ । दुई वटा ल्याव रिपोर्ट पर्खेर बसेका छौँ ।’
इनिसा हत्या प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै देशैभर प्रदर्शन हुन थालेपछि सुर्खेत प्रहरीले गत फागुन २८ गते थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । २९ गतेबाट प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली अनुसन्धानमा खटेको थियो ।
पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको सुर्खेत प्रहरीले घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्युरोको पनि सहयोग लिइएको डीएसपी बुढथापाले बताए । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको थियो ।
इनिसा घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाको बयान र अन्य परीक्षण प्रतिवेदनहरू सरकारी वकिल कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
‘अनुसन्धानको ९९ प्रतिशत काम सकिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी भइसकेको छ । अबको एक–दुई दिनमा अनुसन्धानका सबै प्रतिवेदन सरकारी वकिललाई हस्तान्तरण गर्छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।
ती अधिकृतका अनुसार फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा केही समयदेखि प्रेम सम्बन्धमा रहेको र पूर्वसल्लाहअनुसार नै २३ गते बिहान शहीद पार्क नजिकैको जङ्गलमा गएको देखिएको छ ।
आफूहरूबीच सहमतिमै शारीरिक सम्पर्क भएको र इनिसाको यौनांगबाट अत्यधिक रगत बगेपछि एक्कासि अचेत भएको प्रेमी भनिएका १६ वर्षीया युवकले बयान दिएका छन् । ‘इनिसा बोल्न छोडेपछि म एकदमै आत्तिएँ । यताउता सारेँ, हातखुट्टा चलाएँ । दुई/तीन जना मिल्ने साथीलाई फोन गरें,’ ती युवकको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने, ‘पछि सहयोगका लागि मेरा तीन जना साथी घटनास्थलमा आएका थिए ।’
पक्राउ परेका युवकहरूको बयान र विभिन्न ठाउँका सीसीटीभी फुटेजमा देखिएको समयरेखा मिलेको प्रहरीले बताएको छ । ‘अहिलेसम्म २४ गते पक्राउ गरेका अन्य तीन जना युवकको संलग्नता पुष्टि भएको छैन,’ उनले भने, ‘उनीहरू सहयोगको लागि करिब ९ बजे घटनास्थलमा पुगेको देखिन्छ । त्यो सीसीटीभी फुटेजले पुष्टि गर्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij