२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण र बैठक सञ्चालनको लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार गरेको छ ।
संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको भौतिक कार्य सम्पन्न गरेको हो । प्रतिनिधि सभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनका अनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उहाँको भनाइ छ । दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ ।
उनले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिनुभयो । उनले शपथ कार्यक्रम हुनुभन्दा केही घण्टा अघिसम्म व्यवस्थापनको कार्यहरु जारी रहने बताए।
प्रवक्ता गिरीले हाल तयार गरिएको हलको सेटअप पूर्णरूपमा आपतकालीन प्रकृतिको भएको बताए। उनले कार्यव्यवस्था महाशाखा बहुउद्देश्यीय हलको पछाडी रहेको सानो कोठाबाट सञ्चालन हुने जानकारी दिए। कार्य परामर्श व्यवस्थापन समितिको हल पनि बहुउद्देश्यीय हलकै परिसरमा रहेको हलमा तयार पारिँदैछ । सभामुखका लागि हल पछाडितर्फ छुट्टै कोठाहरू व्यवस्थापन गरिएको उनले बताए।
साथै हलको करिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाउन लागिएको छ । उनले यहाँ व्यवस्थित सेवाहरू उपलब्ध नरहेको स्पष्ट पारे। उनकाअनुसार चैत १२ गते हुने शपथ कार्यक्रम यही हलमा आयोजना गरिनेछ । यसपटक २४ जना प्रतिनिधिसभा सदस्यले मातृभाषामा शपथ लिँदै छन् । शपथपछिको अतिरिक्त समयमा हललाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij