Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

नवदुर्गा सुरु भएसँगै कालिका भगवती मन्दिरमा भक्तजनको भीड

नवदुर्गा सुरु भएसँगै कालिका भगवती मन्दिरमा भक्तजनको भीड


  • 505
    Shares

    • images
    नवदुर्गा सुरु भएसँगै कालिका भगवती मन्दिरमा भक्तजनको भीड

    बागलुङ । चैते दशैंअन्तर्गत नवदुर्गा सुरु भएसँगै देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । चैते दशैं मेलाको अवसरमा मन्दिर परिसरमा चहलपहल पनि बढेको छ ।

    कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत ९ देखि १४ गतेसम्म औपचारिक मेला सञ्चालन हुने भएको छ । नवदुर्गा सुरु भएसँगै शुक्रबारदेखि नै मन्दिरमा पूजा–अर्चनाका लागि आउने भक्तजनको भीड बढ्न थालेको हो ।

    सयौँ वर्षदेखि मेला लाग्दै आएको यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । मन्दिर आसपासमा एक सयभन्दा बढी नयाँ पसल तथा होटल थपिएका छन् भने मौलिक सामग्रीको बिक्रीसमेत सुरु भइसकेको छ । सबै व्यवसायलाई व्यवस्थित बनाउँदै अन्य गतिविधि सञ्चालन गरिने गुठीका अध्यक्ष भूपेन्द्र खड्काले बताए।

    देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने भएकाले यस मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दशैंको प्रतिपदादेखि रामनवमीसम्म करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

    मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा हालसम्म १२ टोली दर्ता भइसकेका छन् भने १६ टोलीसम्म सहभागी हुने सम्भावना रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

    गुठीको व्यवस्थापनमा सञ्चालन हुने मेलामा मौलिक गीत–संगीतका कार्यक्रमसमेत समावेश गरिएका छन् । बागलुङका रणसिंघिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघालगायत गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् । अमलाचौरका कारीगरले बनाएका काठका ठेकीसमेत मेलामा बिक्रीका लागि राखिने गर्छन् ।

    किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गरिएको मानिन्छ । सोही आधारमा विसं १५९१ देखि यस मन्दिरमा पूजा र मेला सञ्चालन हुँदै आएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - ०७:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij