२०८२ चैत्र ७ गते शनिवार
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् । खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो रु सातदेखि रु १० सम्म झरेको छ ।
'आलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा आइपुग्ने व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ', पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले गुनासो गरे ।
सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्न नसकेसम्म समस्या समाधान नहुने स्थानीय समाजसेवी दामोदर अधिकारीको भनाइ छ । मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षिय पशुपति श्रेष्ठ भन्छन्, 'यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बरले आलु फलेको पाइयो, तर भाउ भने घटिरहेको छ । यसले उत्पादन बढ्दा पनि कुनै खुसी हुने अवस्था छैन ।'
यहाँको ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक आलुलगायतका तरकारी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । स्थानीय किसान नारायण श्रेष्ठले उक्त फाँटमा यस ‘सिजन’मा दुई सय रोपनीमा आलु रोपिएको र आफूले मात्रै विगत पाँच वर्षदेखि करिब १२ रोपनीमा आलु रोप्न थालेको बताए । उनले भने, 'गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, तर भाउ भने पोहोरकोभन्दा तेब्बरले घटेको छ ।'
जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिकटन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पुर्याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । त्योमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij