Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

गोरखाको भ्रष्टाचारमा मुछिएको खानेपानी आयोजना नगरपालिकाले सञ्चालन गर्ने निर्णय

गोरखाको भ्रष्टाचारमा मुछिएको खानेपानी आयोजना नगरपालिकाले सञ्चालन गर्ने निर्णय


  • 771
    Shares

    • images
    गोरखाको भ्रष्टाचारमा मुछिएको खानेपानी आयोजना नगरपालिकाले सञ्चालन गर्ने निर्णय

    गोरखा । अनियमितता र भ्रष्टाचारमा मुछिदै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजना अब गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मातहत सञ्चालन हुने भएको छ । बिहीवारको बैठकबाट निर्णय गर्दै बोर्डले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

    ‘उपभोक्ता समिति मार्फत संचालन भइरहेको थियो’, बोर्डका अध्यक्ष एवं नगर प्रमुख कृष्ण रानाले भने, ‘अब बोर्डले संचालन गर्छ, उपभोक्ता समिति स्वत: खारेज हुन्छ ।’ यसबारे समितिलाई पत्राचार गर्ने र जिल्ला प्रशासन, खानेपानी बिभाग लगायत सम्बन्धित निकायलाई जानकारी गराउने तयारी भइरहेको उनले बताए ।

    यस आयोजनामा देखिएका समस्या हल गर्न बोर्डको स्वामित्वमा संचालन गर्न लागिएको उनले जानकारी दिए । ‘नगरपालिकाभित्र संचालनमा रहेका समस्याग्रस्त खानेपानी आयोजनालाई आफ्नो स्वामित्वमा लिने र समस्या हल गरेर नगरवासीलाई सहज रुपमा खानेपानी उपभोग गराउने उदेश्यले बोर्ड गठन गरेका हौ’, उनले भने ।

    उनका अनुसार पृथ्वीनारायण साना सहरी र दरौदी बृहत लिफ्टिङ नगरभित्र संचालित दुई ठूला खानेपानी आयोजना हुन् । दरौदीले सिधै उपभोक्तालाई नभई नगरभित्रका अन्य आयोजनालाई पानी वितरण गर्छ । र ती आयोजनामार्फत उपभोक्तालाई पानी वितरण हुन्छ ।

    ‘दरौदीको पानी साना सहरीले किनेर आफ्ना उपभोक्तालाई वितरण गर्ने हो, तर समस्या के भयो भने दरौदीसँग पर्याप्त पानी हुँदाहुँदै पनि साना सहरीले अड्कलेर किन्ने अनि आफ्नो उपभोक्तालाई पनि पर्याप्त पानी नदिने गर्दा समस्या भयो’, रानाले भने । साना सहरीले धारा जडान शुल्क र पानी महशुल समेत अत्याधिक लिने गरेको गुनासो उपभोक्ताको रहेको उनले बताए ।

    यिने समस्या समाधानका लागि बोर्डको स्वामित्वमा साना सहरी र दरौदी दुवै आयोजना संचालन गर्न लागिएको उनले जानकारी दिए । सुपथ मूल्यमा पानी उपभोग गराउन बोर्डले महशुल समेत निर्धारण गरेको छ । धारा जडान शुल्क पनि घटाइएको छ । अवको कार्यपालिका बैठकबाट पास गराएर कार्यान्वयन गर्ने तयारी बोर्डको छ ।

    दुवै आयोजनालाई थप व्यवस्थित गर्दै बोर्डमार्फत संचालन गर्ने निर्णय गत वर्षको नगरसभाबाटै भएको हो । सोही निर्णय बमोजिम गत वर्षको माघ महिनाबाट दरौदी वृहत लिफ्टिङ खानेपानी आयोजना बोर्डमार्फत संचालन हुन थालिसकेको छ ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले उक्त आयोजना बोर्डलाई हस्तान्तरण गरिसक्यो । केही प्राविधिक समस्याका कारण पृथ्वीनारायण साना सहरी आयोजना भने बोर्ड मार्फत संचालनमा ल्याउन ढिलाइ भएको रानाले बताए । बिहीबार पुन: बैठक बसेर बोर्डमार्फत आयोजना संचालन गर्ने निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

    ‘यस आयोजनामा अनियमितता र भ्रष्टाचार भयो भनेर अख्तियारमा उजुरी परेको छ’, उनले भने, ‘आवश्यक छानबिनसहित कारबाहीका लागि अख्तियारले हामीलाई पत्राचार समेत गरेको छ ।’ अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी उपभोक्ताको रकम असुल उपर गराउन अख्तियारले पत्राचार गरेको बोर्ड सदस्य एवं नगर उपप्रमुख मसलीमाया थोकरले बताइन् । छिटै कार्यपालिका बैठक बसेर छानबिन समिति गठन गर्ने र आवश्यक छानबिनसहित कारवाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिइन् ।

    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - ०७:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij