२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-८ स्थित भीमढुंगा घर भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भीमढुंगाका २८ वर्षीय सागर गिरी र २८ वर्षका प्रमोद प्रसाद धिताल चैत २ मा पक्राउ परेका थिए ।
उनीहरूले हुण्डी र क्रिप्टो कारोबार गरेको आरोप छ । आरोपितहरूको घरबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ करोड १६ लाख नगद बरामद गरेको थियो ।
बरामद रकम आरोपितहरूले क्रिप्टो कारोबार मार्फत आर्जन गरेर आफ्नो बैंक खातामा ट्रान्सफर गरेर निकालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।उनीहरूको ल्यापटप, मोबाइल र बैंक खाताको विवरण हेर्दा अहिलेसम्म उनीहरूले २० करोड ९६ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको एसपी भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार प्रमोदको मोबाइलमा ‘बायनान्स’ अकाउन्ट खोलेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार बायनान्स अकाउन्ट मार्फत क्रिप्टो काराबोर गर्ने गरिन्छ । आरोपितहरूले सात-आठ वटा ईसेवा अकाउन्ट खरिद गरेर ती अकाउन्टमार्फत कारोबार गर्ने गरेको भेटिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij