२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी सम्पूर्ण निकायमा पत्रचार गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले संवैधानिक निकायहरूमा पार्टीका तर्फबाट जानकारी दिइसकेको छ ।
बुर्लाकोटीका अनुसार त्यसअघि नै पार्टीले संसदीय दलको नेता टुङ्ग्याउनेछ । मन्त्रीमण्डल कति बनाउने भन्ने विषयमा बिहीबार नेताहरूबीच छलफल चलेको थियो । दरबारमार्गस्थित होटल रोयल सिंगेमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद (डीपी) अर्यालबीच भएको छलफलमा बढीमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको हो । ‘त्यही १८ कै सेरोफेरोमा मन्त्रीमण्डल बन्ने छलफल भएको छ,’ बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीको सपथचाहिँ १३ गते हुने गरी सम्पूर्ण निकायमा खबर गरिसकेका छौँ ।’
उनका अनुसार प्रधानमन्त्री शाहले सपथ लिएकै दिन केही मन्त्रीले पनि सपथ लिने गरी तयारी भइरहेको छ । ‘को–को मन्त्री बन्छन् भन्ने कुरामा हामी छलफलमै छौँ,’ बुर्लाकोटीले भने, ‘त्यही दिन केही मन्त्री टुङ्गिनेछन् भने बाँकी मन्त्रालयको जिम्मेवारी पार्टीले योग्यता, क्षमता र दक्षताका आधार तय गर्नेछ । यसबारे नेताहरूबीच छलफल भइरहेको छ ।’
रास्वपा स्रोतका अनुसार १८ सदस्यीय बनाउने मन्त्रीमण्डलमा सभापति लामिछानेपक्षबाट १० र बालेनपक्षबाट ८ जनालाई मन्त्री बनाउने गरी छलफल गरिएको छ ।
उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने चर्चा रास्वपाभित्र चलेको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंहको दाबी रहेको छ । भने, कानुनमन्त्रीमा सोविता गौतम, पर्यटनमन्त्रीमा धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको चर्चा चलेको छ । त्यसैगरी सुनिल लम्सालको पनि गृहमा चर्चा चल्दा सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने गरी छलफल भएको छ । त्यस्तै सञ्चारमा जगदीश खरेल र मनिष झाले इच्छा जनाएका छन् भने सुधन गुरुङले भौतिक पूर्वाधारमा दाबी गरेका छन् । स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ ।
रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने यसअघि नै तय गरिसकेको छ । काठमाडौं महानगर प्रमुखको पदबाट राजीनामा दिएर गत १३ पुसमा रास्वपा प्रवेश गरेका बालेनले पार्टीभित्र पदाधिकारीसहित उम्मेदवारमा ४० प्रतिशत कोटा लिएका थिए । हाल रास्वपाका १२५ प्रत्यक्ष र ५७ समानुपातिक सांसद निर्वाचित भएका छन् । झण्डै दुईतिहाइको हाराहारीमा सिट संख्या लिएर सरकार बनाउन लागेको रास्वपा सरकारलाई उच्च प्राथमिकताका साथ हेरिएको छ ।
बिहीबार निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिसकेको छ । त्यस्तै, संसद सचिवालयले पनि सर्वदलीय बैठक डाकिसकेको हुँदा अबको मुख्य ध्यान नै सरकार गठनतर्फ गएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij