२०८२ चैत्र ६ गते शुक्रवार
दार्चुला। सोमबार महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ । महाकालीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६, पन्तोलीका १६ वर्षीय धीरजसिंह धामी बिहीबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।
बेपत्ता भएकै दिनदेखि सुरक्षाकर्मी र स्थानीयले खोजी गर्दै आए पनि फेला नपरेपछि सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको जनाएको छ । बिहीबार बिहान सुदुरपश्चिम प्रदेश अत्तरिया बाहिनीबाट सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्ने धीरज धामी पौडी खेल्ने क्रममा सदरमुकामस्थित महाकाली नगरपालिका–५, बसपार्क क्षेत्रबाट बेपत्ता भएका थिए । साथीहरूसँग पौडी खेल्न गएका धीरज नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनी सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij