२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले भागबन्डा पुराउन २३ जना उपाध्यक्ष राखेर नयाँ नेतृत्व चयन गरेको छ । डा। हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत रूपमा चयन गरेको नयाँ कार्यसमितिमा २३ जना उपाध्यक्षसहितको ठूलो संरचना बनाएपछि अहिले आलोचना बढेको छ ।
अध्यक्ष पदका प्रमुख दाबेदार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको एकता र व्यापक हितलाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएपछि डा. शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । सहमतिपछि शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्षको भूमिकामा बस्न तयार भएका थिए।
नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा रविन शेरचन चयन भएका छन् । उपाध्यक्षहरूमा रामशरण सिम्खडा, खगेन्द्र न्यौपाने, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, रोशन थापा, प्रवीण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईँ, लोकप्रसाद दाहाल, भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, विश्वदीप तिगेला, तिलक गैरे, राधिका गुरुङ ‘टिका’ र भीमसेन थापा चयन भएका छन् । महिला उपाध्यक्षतर्फ राधिका गुरुङ ‘टिका’ निर्विरोध चयन भएकी छन् भने युवा उपाध्यक्षमा भीमसेन थापा चयन भएका छन् ।
महासचिवमा डा. चिरञ्जीवी खड्का चयन भएका छन् । उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह चयन भएका छन् । सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कँडेल, शिव प्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानी प्रसाद तिम्सिना र रमेश भट्ट चयन भएका छन् ।
महिला सचिवमा अमृता थापा कञ्चन चयन भएकी छन् । कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन भएका छन् भने सह-कोषाध्यक्षमा अब्दुल बासिद र विमल सुवेदी रहेका छन् । महिला सहकोषाध्यक्षमा गंगा खतिवडा चयन भएकी छन् । महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा नवीन निउरे चयन भएका छन् । क्षेत्रीय संयोजकतर्फ अफ्रिका संयोजकमा मनोज विक, अमेरिका संयोजकमा भुवन खरेल, एसिया प्यासिफिक संयोजकमा दीपक प्रसाद कँडेल, युरोप संयोजकमा रोबर्ट लिम्बु, मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ र ओसेनिया संयोजकमा रमेश जोशी चयन भएका छन् ।
क्षेत्रीय उपसंयोजक तथा सह संयोजकहरूमा अमेरिका उपसंयोजक नेत्र पाण्डे र सम्राट थापा रहेका छन् । एसिया प्यासिफिक सहसंयोजकमा भबिन्द्र बस्नेत, छत्रबहादुर दाहाल र लालसिंह खड्का चयन भएका छन् । युरोप सहसंयोजकमा तिलकराम भट्टराई तथा मध्यपूर्व सहसंयोजकमा विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ र करिम बक्स मिया रहेका छन् । ओसेनिया उपसंयोजकमा छविप्रसाद सापकोटा, सिके भुसाल र हेमन्त काफ्ले चयन भएका छन् ।
महिला क्षेत्रीय संयोजकतर्फ एसिया प्यासिफिकमा संगिता अधिकारी, युरोपमा बाबा राजेश्वरी थापा र मध्यपूर्वमा सरिता भण्डारी चयन भएका छन् । महिला सह–संयोजकतर्फ युरोपमा राधा सिग्देल किरण र मध्यपूर्वमा मन्जु मल्ल उचाइ रहेका छन् ।
युवा क्षेत्रीय संयोजकतर्फ एसिया प्यासिफिकमा राम थापा ‘अनिल’, युरोपमा शिव सागर बुढाथोकी र मध्यपूर्वमा सुजन सापकोटा चयन भएका छन् । युवा उप–संयोजकतर्फ युरोपमा अम्मान गौचन र मध्यपूर्वमा बासुदेव सापकोटा रहेका छन् । दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल चयन भएकी छन् भने प्रवक्तामा सोम सापकोटा चयन भएका छन् । महाधिवेशनले व्यापक सहमतिको आधारमा नेतृत्व चयन गरेको भन्दै संघभित्र एकता सुदृढ भएको दाबी गरिएको छ । विभिन्न देशबाट प्रतिनिधित्व गर्ने नेताहरूको समावेशी सहभागितासहित नयाँ कार्यसमिति गठन गरिएको हो ।
अमेरिका बस्ने किरण मरहठ्ठाले अहिले एनआएरएनको नेतृत्वका विषयमा भएको गतिविधिले अफ्ठयारो भएको जनाए । ‘एनआरएन अभियानको यस स्तरको घटनाको भविष्यमा कहिल्यै साक्षी नबन्नुपरोस्। यति महत्वपूर्ण संस्थाको गरिमा यति छिटो यसरी क्षय हुने कुराको कल्पनासमेत कसैले गरेकै थिएन,’ उनले भनेका छन् । क्यानडा बस्ने बिमल बस्नेतले पदका लोभी भएको उपाध्यक्षको लावालस्करले देखाएको जनाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij