२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो ।
मुस्लिमहरुको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए । उनका अनुसार प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति र नुन लगायतका सामग्री उपलब्ध गराइएको छ ।
उनले यसवर्ष रमजानको अवसर पारेर काठमाडौंको मैतीदेवी क्षेत्रमा २ सय र यसअघि बारा जिल्लामा १ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताए । नेपाल–भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजानको समयमा सहयोग गर्दै आएको उनले जानकारी दिए।
उनले यसअघि भूकम्प, कोभिड लगायतको समयमा पनि उक्त संस्थाले सहयोग गरेको बताए। अन्सारीकाअनुसार रमजानको पवित्र महिनामा आर्थिक रूपमा कमजोर परिवारले पनि सहज रूपमा चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो ।
उनले ईस्लामले आवश्यक परेमा बेलामा अरुलाई सहयोग गर्नु नै धर्म भन्ने सिकाएकोले दुःखी गरिबहरुलाई सहयोग गरेको बताए । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको संयुक्त पहलमा ३ सय भन्दा बढी घरपरिवार लाभान्वित भएको उनको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij