२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गरिदिए बापत एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीसहित घुस दिने कर्मचारीविरुद्ध पनि मंगलबार आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करारमा कार्यरत मोहन शाहको म्याद थप गर्न नगर प्रमुख वादीले घुस मागेका थिए। बैंक खातामा रकम जम्मा गरिदिएपछि मात्र उनको करार अवधि निरन्तरता दिइएको अनुसन्धानबाट खुलेको छ। सोही बैंक भौचरसहित उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो।
नगर प्रमुख वादीले आफ्नो ओहदाको दुरुपयोग गरी घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ।
आफ्नो सेवा करार अवधि निरन्तर गराउने उद्देश्यले नगर प्रमुखलाई घुस दिने असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर (घुस दिने कार्य) स्थापित भएकोले उनीमाथि पनि एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij