२०८२ चैत्र २ गते सोमवार
सुर्खेत । दुई छोराछोरीसहित आइतबार बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, मायाको शव लेकबेशी नगरपालिका–३ को पटारो स्थित भेरी नदीमा भेटिएको हो ।
आमाको शव चाहिँ भेटियो, केटाकेटीको अवस्था अझै अज्ञात छ, बुढ्थापाले भने, ‘आमाको शव भेरी नदीमा भेटिएकाले छोराछोरी पनि भेरीमा बेपत्ता भएको अनुमान छ । खोजी कार्य भइरहेको छ ।’
आइतबार माया बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।
त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए । ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्यो,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij