२०८२ माघ ७ गते बुधवार
१. हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनु भयो । उहाँले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताउनु भयो । उहाँले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरुको एकमात्र चाहना रहेको जिकिर गर्नुभयो ।
२. राष्ट्रियसभा सदस्य निर्वाचनः वागमती प्रदेशमा ६ जनाको उम्मेदवारी
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत वागमती प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छ्न । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले) नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार दर्ता गराएका हुन् । नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछेले उम्मेदवारी दर्ता गराएका छन् । एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगालले उम्मेदवारी दिनुभएको छ भने नेपाली काँग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यतालिकाअनुसार बुधवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । वागमती प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।
३. राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । मधेसमा ४ राष्ट्रिय सभा सीटका लागि काँग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्यतर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीमा लोसपाको मधेस प्रदेश सभा सदस्य जयनुल राइन प्रश्तावक र रानी शर्मा तिवारी समर्थक बसेका थिए । ठाकुरको उम्मेदवारीमा जसपा नेपालको पनि समर्थन छ । त्यस्तै मधेसमा जसपा नेपालबाट राष्ट्रियसभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।
४. राष्ट्रिय सभा निर्वाचनः काँग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । बुधवार काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरु मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो । जसमा नेपाली काँग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली काँग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक काँग्रेसले लिएको छ ।
५. झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ?
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरु अपराधी भएको बताउनु भयो । उनीहरुलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गर्नुभयो । अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? उहाँको प्रश्न छ । निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको बताउनु भयो ।
६. गगनको गुनासोः विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले महामन्त्रीहरुका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताउनुभएको हको । उहाँले नेपाली काँग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाउनु भयो । उहाँले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताउनु भयो । उहाँले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गर्नुभयो ।
७. खोला मापदण्ड विरोधः पीडितहरूको आन्दोलन जारी (तस्बिरसहित)
काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा अन्य खोलामा ४–१० मिटरसम्म मापदण्ड तोकेको थियो । त्यसैअनुसार धेरैले जग्गा छोडेर घर निर्माण गरेका थिए । तर सर्वोच्च अदालतले २०८० पुस ३ गते थप २० मिटर (कुल ४० मिटरसम्म) क्षेत्रमा संरचना बनाउन निषेध गर्ने फैसला गरेको थियो । यसले उपत्यकाका १९ वटा खोलामा ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान छ ।
८. अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न सकिँदैनः झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न नसकिने बताउनुभएको छ । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २४ घण्टामा भएको जेन–जी प्रदर्शनले देश सखाप बनाएको भन्दै अब २५ वर्ष पछि देश धकेलिएको बताउनु भयो । उहाँले जेन–जी प्रदर्शन कसैलाई गर्व लागे पनि वास्तवमा संविधान सखाप बनाउने काम भएको बताउनु भयो । उहाँकाअनुसार संविधान तोडफोड गरिएको छ, अब अर्को संविधान सभा बनेर संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । नेपाल संवैधानिक हिसावले अग्रगामी देश भएको बताउनु भयो ।
९.अध्यक्ष ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रश्तावकमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहनुभएको छ भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी हुनुहुन्छ । जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदैछ । दलित, अल्पसंख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ । मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन् ।
१०. खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियोः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाउनुभएको छ । बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाउनुभएको हो । उहाँले दुई पार्टीका शिर्ष नेताको नितान्त व्यतिmगत सम्बन्धका मान्छेहरुलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताउनु भयो । उहाँकाअनुसार एमालेले कुन ठाउँमा कुन समुदाय र कुन नेता बनाउने भनेर क्लष्टर लिएको छ भने काँग्रेसले पनि पार्टीको नभई नेताको खल्तीको मान्छे बनाउनका लागि क्लष्टर लिएको देखिन्छ । राष्ट्रिय सभाका लागि काँग्रेसबाट प्रश्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनैपनि तल्लो तहको समितिबाट सिफारिस नभएको पनि उहाँले बताउनु भयो ।
११. चलचित्र विधेयकको दफावार छलफल सकियो
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो । समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिनुभयो । उहाँले मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथी छलफल गर्ने बताउनु भयो । उहाँले प्रतिवेदन तयार पारी अब बस्ने राष्ट्रिय सभामा पेश गर्नेगरी तयारी थालेको पनि जानकारी दिनुभयो ।
१२. नेपाली सेना जेन–जी आन्दोलनमा असफल भयोः वरिष्ठ अधिवक्ता श्रेष्ठ
नेपाली सेना राष्ट्रको गौरव भएपनि जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय धरोहर बचाउन असफल भएको सरोकारवालाहरुले बताएका छन् । स्वाधीन र सफल नेपालको लागि नेपाली सेनाको अपरिहार्यता र नागरिक कर्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले हालै भएका आन्दोलनका नेपाली सेनाले आवश्यक भुमिका निर्वाह गर्न नसकेको बताएका हुन् । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली सेना अन्तर्राष्ट्रिय रूपमा गौरवको रूपमा हेरिए पनि आन्तरिक रूपमा कमजोर देखिएको बताउनु भयो । जेन–जी आन्दोलनका क्रममा सिंहदरबारस्थित सेनाको कार्यालयमै आगजनी हुन पुग्नु राज्यका लागि गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनु भयो । उहाँले सिंहदरबारमा आगो लगाउँने क्रममा नेपाली सेनाले अन्तर्राष्ट्रिय कानूनअनुसार दंगा नियन्त्रणको सिद्धान्त समेत प्रयोग नगरेको आरोप लगाउनु भयो ।
१३. राष्ट्रिय सभा सदस्य छनोट प्रक्रियाप्रति अर्जुननरसिंह केसीको आपत्ति
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेद्वार छनोटको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ । उहाँले बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेद्वार छनौट गरिएको बताउनु भयो । पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उहाँको आरोप छ । उहाँले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उहाँले बताउनु भयो । उहाँले ६०–४० को भागबण्डाका आधारमा उम्मेद्वार छनौट गरिएको पनि आरोप लगाउनु भयो । नौ जनाको सूचिमा आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद् भएको उहाँको भनाई छ ।
१४. अलेप्पोमा एसडीएफको ड्रोन आक्रमणमा तीन सर्वसाधारणको मृत्यु
सिरियाको उत्तरी शहर अलेप्पोमा ‘सिरियन डेमोक्रेटिक फोर्सेस’ (एसडीएफ) ले सरकारी सेनाको ठेगानाहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा परी तीन जना सर्वसाधारणको मृत्यु भएको छ । सरकारी सञ्चारमाध्यमकाअनुसार मंगलवार भएको यस आक्रमणमा अन्य कैयौँ व्यक्तिहरू घाइते भएका छन् । जसले गर्दा क्षेत्रमा तनाव थप चर्किएको छ । राज्य नियन्त्रित समाचार एजेन्सी सानाकाअनुसार अलेप्पोको शेख मकसुद क्षेत्र नजिकै सेना तैनाथ गरिएको स्थानमा ड्रोन प्रहार गरिएको थियो । उक्त आक्रमणमा परी तीन सर्वसाधारणले ज्यान गुमाएका छन् भने रक्षा मन्त्रालयका तीन कर्मचारीसहित अन्य केही व्यक्तिहरू घाइते भएका छन् ।
१५. इराकले मनायो १०५ औं सेना दिवस, हतियार नियन्त्रण सुदृढ गर्ने प्रतिवद्धता
इराकले आफ्नो १०५ औं सेना दिवस भव्यताका साथ मनाएको छ । यस अवसरमा आयोजित विशेष समारोहमा इराकी सरकारले देशमा हतियार नियन्त्रणलाई थप सुदृढ बनाउने र अवैध हतियारको प्रयोगलाई निरुत्साहित गर्ने प्रतिवद्धता गरेको छ । राजधानी बग्दादमा आयोजित सैनिक परेड र विभिन्न कार्यक्रमहरूमा उच्च पदस्थ अधिकारीहरूले सेनाको वीरताको प्रशंसा गर्दै राष्ट्रिय सुरक्षा र स्थिरता कायम राख्न सुरक्षा बलको भुमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिएका छन् ।
१६. इरानद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग
इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गर्दै वासिङ्टनको यस कदमलाई गैरकानूनी र भेनेजुएलाको सार्वभौमसत्ता विरुद्धको कार्य भनी भत्र्सना गरेका छन् । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बाघेईले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि मादुरो र उनकी पत्नीलाई अपहरण गरिएको आरोप लगाउँदै यो कार्य अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताए ।
१७. चीनद्वारा राष्ट्रसंघीय सुरक्षा परिषद्मा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा
चीनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको भत्र्सना गरेको छ । चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सोमबार एक चिनियाँ दुतले भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा गर्नुभयो । संयुक्त राष्ट्रसंघका लागि चीनको स्थायी नियोगका कार्यवाहक प्रमुख सुन लेईले चीन संयुक्त राज्य अमेरिकाको एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण कार्यहरूबाट गहिरो रूपमा स्तब्ध भएको बताउनु भयो ।
१८. जेरुसेलममा सैन्य भर्तीविरुद्धको प्रदर्शनमा एकको मृत्यु, तीन घाइते
जेरुसेलममा मंगलवार अनिवार्य सैन्य सेवाको विरोधमा आयोजित विशाल प्रदर्शनका क्रममा एक जनाको ज्यान गएको छ । इजरायलको आपतकालीन सेवाकाअनुसार प्रदर्शनकारीहरूको भीडमा बस जोतिँदा एक किशोरको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । यो घटना अल्ट्रा–अर्थोडक्स समुदायका करिव १५ हजार पुरुषहरू सहभागी ¥यालीका क्रममा भएको हो । उनीहरूले धार्मिक विद्यार्थीहरूलाई सैन्य सेवाबाट छुट दिने लामो समयदेखिको व्यवस्था कायम राख्नुपर्ने माग गर्दै प्रश्तावित नयाँ कानुनको विरोध गरिरहेका थिए ।
१९. टर्कीमा सन् २०१६ को कू प्रयाससँग सम्बन्धित २२३ जना संदिग्धहरू पक्राउ
टर्कीका आन्तरिक मामिला मन्त्री अली येर्लिकायाले मंगलवार दिनुभएको जानकारीअनुसार, सन् २०१६ को असफल सैन्य विद्रोह (कू) सँग संलग्न भएको आरोपमा देशभर सञ्चालित अभियानका क्रममा पछिल्लो २० दिनमा २२३ जना संदिग्धहरूलाई नियन्त्रणमा लिइएको छ । येर्लिकायाले उक्त कारबाही गुलेन मुभमेन्टको गोप्य संरचनाहरूमा संलग्न रहेका व्यक्तिहरूलाई लक्षित गरी गरिएको बताउनु भयो । जसमा गुप्त सञ्चार र वित्तीय सहयोग गतिविधिहरू समावेश छन् । उहाँकाअनुसार ८७ संदिग्धहरूलाई पक्राउ गरिएको छ । ५० जनालाई न्यायिक निगरानीमा राखिएको छ । जबकि बाँकी व्यक्तिहरूका लागि कानुनी प्रक्रियाहरू हाल जारी रहेका छन् ।
२०. टुआडेराले मध्य अफ्रिकी गणतन्त्रको राष्ट्रपति निर्वाचन जिते
मध्य अफ्रिकी गणतन्त्रका वहालवाला राष्ट्रपति फाउस्टिन–अर्काञ्ज टुआडेराले ७६.१५ प्रतिशत मतका साथ राष्ट्रपति निर्वाचनमा पूर्ण बहुमत हासिल गर्दै विजय प्राप्त गरेका छन् । राष्ट्रिय निर्वाचन प्राधिकरण (एएनई) ले सार्वजनिक गरेको नतिजा अनुसार टुआडेराले सो सफलता हात पार्नुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री एनिसिट–जर्जेस डोलोगुएलेले १४.६६ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभयो । अर्का पूर्वप्रधानमन्त्री हेनरी–मारी डोन्ड्राले ३.१९ प्रतिशत मत प्राप्त गर्नुभयो ।
२१. भेनेजुएलामा सैन्य हस्तक्षेपको विरोधमा अर्जेन्टिनी नागरिकद्वारा प्रदर्शन
अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् । ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गरेका छन् ।
२२. भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियामा प्रदर्शन
भेनेजुएलामाथि हालै भएको अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन शुरु भएको छ । सिड्नी, मेलबर्न र क्यानबेरा जस्ता प्रमुख शहरहरूमा भेला भएका हजारौं प्रदर्शनकारीहरूले अमेरिकी सैन्य हस्तक्षेपको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र एक सार्वभौम राष्ट्रमाथिको अनावश्यक हस्तक्षेप भएको बताएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाबाट हात झिक र युद्ध रोकेर शान्ति कायम गर जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
२३. सन् २०२५ मा जापानमा सवारी दुर्घटनाबाट २ हजार ५ सय ४७ को मृत्यु
जापानभर सन् २०२५ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या अघिल्लो वर्षको तुलनामा ११६ ले घटेर २ हजार ५ सय ४७ पुगेको प्रहरी तथ्याङ्कले मंगलवार देखाएको छ । राष्ट्रिय प्रहरी निकाय (एनपीए) का अनुसार सन् १९४८ मा तुलनात्मक तथ्याङ्क उपलब्ध भए यताकै यो सबैभन्दा न्युन संख्या भएपनि सन् २०२५ सम्ममा वार्षिक ट्राफिक मृत्युदरलाई २ हजार भन्दा कममा झार्ने सरकारको लक्ष्य भने पूरा हुन सकेन । एनपीएकाअनुसार कुल मृतकहरूमध्ये ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको हिस्सा ५५.९ प्रतिशत अर्थात १ हजार ४ सय २३ रहेको छ ।
२४. नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान, पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह
नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रिय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले केन्द्रिय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गर्नुभयो ।
२५. महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः काँग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाएका छन् । पार्टीको संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको भन्दै उनीहरुले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरणसहित पुस्तान्तरण गर्न सुझाएका हुन् । बुधवार पार्टी महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग छलफल गरी विशेष महाधिवेशनबारे सुझाव लिएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले छलफलमा संस्थापन पक्षले पार्टी महामन्त्रीहरुलाई कारबाही गर्छ की ? भन्ने प्रश्न पनि उठेको उल्लेख गर्नुभयो ।
२६. आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिन्छः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रियसभाको निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिइरहेको टिप्पणी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भईरहेको बताउनुभएको हो । उहाँले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनस्र्थापना हुनैपर्ने अडान समेत दोहो¥याउनु भयो । मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुको विकल्प नरहेको ओलीको भनाई थियो । उहाँले संविधान मिच्न, कुल्चिन नदिन आफूहरुले प्रतिनिधि पुनस्थापनाको माग गर्नुपरेको समेत बताउनु भयो ।
२७. बालेन, रवि, कुलमानलक्षित ओलीको टिप्पणीः २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्
नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गर्नुभएको छ । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताउनु भयो । उहाँले एमाले–काँग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताउनु भयो ।
२८. मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिनुभएको हो । बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताउनु भयो । आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन ।
२९. कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग
कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरुले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनु हुँदैन ।
३०. निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो
पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आ.व.को कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
३१. निर्यात अनुदान शिर्षकमा अघिल्लो सरकारले १० हजार छुट्एको रहेछः उद्योगमन्त्री सिन्हा
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शिर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातले विशेष भुमिका खेलेपनि तत्कालिन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान दिन आफूहरुले नसकिरहेको बताउनु भयो । उहाँले जनताले भोट दिएर जिताएकाहरुले राम्रोसँग काम नगरिदिँदा यस्ता समस्या देखापरेकाले आगामी दिनमा सक्षम मान्छेलाई मात्रै जिताएर सांसद्मा पठाउन आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij