Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रामबालक चौधरीले प्रेमिका अविनाको घाँटी थिचेर हत्या

रामबालक चौधरीले प्रेमिका अविनाको घाँटी थिचेर हत्या


  • 274
    Shares

    रामबालक चौधरीले प्रेमिका अविनाको घाँटी थिचेर हत्या

    काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका-१ बाल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ ।

    घटना भएको एक महिनापछि मंगलबार अविनाको हत्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय रामबालक चौधरीलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    सिरहा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका चौधरीसँग पहिलादेखि नै अविनाको प्रेमसम्बन्ध रहेको खुलेको छ । चौधरी विवाहित हुन् । प्रहरीका अनुसार चौधरीका एक सन्तानसमेत छन् । तर पछिल्लो समय श्रीमतीसँग खटपटको कारण उनी अलग्गै बस्दै आएका थिए ।

    गत मंसिर २२ गते पौने ३ बजेतिर कर्जन्हा नगरपालिका(२ स्कुल टोलस्थित कमला सिंचाइ नहर नजिक झाडीमा बल्टिया बस्ने सूर्यदेव वैधकी छोरी १७ वर्षीया अविनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

    केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले गरेको अनुसन्धानबाट चौधरीले नै हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

    मंसिर २१ गते राति ७ बजे धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले मादक पदार्थ सेवन गरी पटकपटक अविनालाई फोन सम्पर्क गरेका थिए । त्यस क्रममा साढे ८ बजे अविना र रामबालकबीच फोनमा कुरा भयो । त्यसपछि रामबालकले अविनालाई भेटका लागि बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

    राति सवा ९ बजे बजे अविना रामबालक चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि रामबालकले अविनालाई कमला नदीको किनार हुँदै घर छाड्न जाने क्रममा घटनास्थल नजिक पुगेर सहमतिमै शारीरिक सम्पर्क गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    अविनाले रामबालकलाई पहिलेदेखि नै विवाहको प्रस्ताव राख्ने गरेकी थिइन् । तर अविनाले अन्य पुरुष मानिससँग फोनमा अडियो(भिडियो कल गर्ने गरेको र त्यो कुरा रामबालकलाई मन परेको थिएन । यो विषयमा पहिले पनि दुवै जनाबीच विवाद पर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    अन्य पुरुषसँग सम्बन्ध राख्ने गरेको आशंकामा आवेशमा आएर रामबालकले अविनाको घाँटी थिचेर ढुंगाले दाहिने गालामा प्रहार गरेका थिए । त्यसपछि अविना बेहोस भएपछि बोकेर नजिकैको झाडीमा लगेर ढुंगाले अनुहार किचेर घटनास्थलबाट भागेको खुलेको डीएसपी पालले बताए ।

    रामबालकलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १२:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij