२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर देखिने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै हुस्सु कायम रहनेछ ।
उपत्यकामा तुवालोले मौसम खराब भएको छ । प्रदूषणका कारण अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन अनुरोध गरिएको छ । तराई भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ । मौसम प्रतिकुल रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सुरुवाती मापनमा आज बुधबार पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोकै हाराहारीमा देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो। हिजो मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।
तर पछि बिहान ८ः४५ बजे थप घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुनस् मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij